२८ कार्तिक २०८३, शनिबार

विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा योजनासहित दोर्दीले ल्यायो ५१ करोड ७४ लाखको बजेट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ११ असार । पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने योजनासहित दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५१ करोड ७४ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार दोस्रो गाउँ सभाको तेस्रो अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

बजेट मध्ये संघीय सरकारबाट गाउँपालिका वित्तीय समानीकरण अनुदान ८ करोड २४ लाख, सशर्त अुदान २५ करोड ४८ लाख, राजस्व बाँडफाँड तर्फ ९ करोड १४ लाख ६९ हजार, संघ समपुरक अनुदान तर्फ ३ करोड १० लाख, संघ विशेष अनुदानतर्फ १ करोड ८० लाख, प्रदेशबाट गाउँपालिका वित्तीय समानीकरणतर्फ १ करोड ९ लाख ९८ हजार, प्रदेश राजस्व बाँडफाँडतर्फ ७५ लाख ८९ हजार, प्रदेश समपुरक अनुदान तर्फ ६० लाख, प्रदेश विशेष अनुदान तर्फ ४० लाख, आन्तरिक आयतर्फ ४० लाख अनुमानित बजेट पेश गरिएको गाउँपालिका उपाध्यक्ष घलेको भनाइ छ । उनका अनुसार विषयगत शाखा अन्तर्गतको अनुमानीत बजेट समेत पेश गरिएको छ ।

“दोर्दीको आधार, समृद्ध पालिका–सुशासन कृषि, पर्यटन र रोजगार” भन्ने नाराका साथ आगामी वर्षको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष युवराज अधिकारीले प्रस्तुत गरे । उनले पालिकाभित्रका रहेका आर्थिक विपन्न नागरिकको लागि स्वास्थ्य बीमा गर्ने नीति अवलम्बन गरिने बताए ।

त्यस्तै, जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क राख्ने वडा कार्यालयको क्षमता विकास स्रोत साधनमा वृद्धि र प्रणालिको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ । सेवाग्राीले सहज र सरल स्रोत प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना प्रविधिको उच्चतम प्रयोग गर्न जरुरी रहेको र यस्तै विषयलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम प्रस्तुत गरिएको उनको भनाइ छ ।

त्यस्तै, गाउँपालिकाले एक वडा एक कृषि उत्पादन कार्यलाई अगाडी बढाउँदै लौजाने नीति ल्याएको छ । कृषि योग्य जमिन बाँझो छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फलफुल खेती कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउने उनले बताए । अध्यक्ष घिमिरेका अनुसार जलवायु मैत्री, आधिनिक तथा वैज्ञानिक कृषि, तथा पशुपालनका अवसरहरु पहिचान गरी कृषकहरुलाई अधिकतम लाभ दिने कार्यक्रम ल्याइएको छ ।

गाउँपालिका अध्यक्ष अधिकारीले प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममा धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको विकास गरिने, पर्यटकिय विकासको सम्भावनालाई मध्यनजर गर्दै होमस्टे प्रवर्दन गरिने उल्लेख गरिएको छ ।

गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने नीति ल्याएको छ । पर्यटकीय विकासको सम्भावनाहरुलाई मध्यनजर राख्दै यस क्षेत्रमा आवश्यकता अनुसार होमस्टे अवधारण विकास गरिने छ । होमस्टे सुधारको लागि अनुदानको व्यवस्था गरिनेछ । यस क्षेत्रमा मुख्य पर्यटकीय क्षेत्र मेमेपोखरी, बराहपोखरी, इलामपोखरी, लिपेलेक, जुमडाँडा, हिलेटक्सार डाँडा, कोम्रोडाँडा, फलेनी, दुधपोखरी कुण्ड लगायतको संरक्षण गरी पदमार्गको विकासको लागि प्रचार गरी पर्यकटकीय स्थलहरुमा आन्तरिकत तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने नीति अवलम्बन गरिने भएको छ ।

धार्मिक, सामाजिक, ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै गाउँपालिका स्तरीय ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय म्युजियम स्थापना गर्ने भएको छ । सबै जातरजातीको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवद्र्धन गर्न आवश्यक पहल गर्नुका साथै धर्म संस्कृति, इतिहास बोकेको क्षेत्रको संरक्षणमा जोड दिइने गाउँपालिकाले जनाएको छ ।

यसैगरी, गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माणमा जग्गा खरिद अभियान सञ्चालन गर्ने भएको छ भने हेलो आमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नौथर स्वास्थ्य इकाईमा भिडियो एक्सरे सेवालाई सेवाग्राहीमुखी र थप प्रभावकारी बनाइने भएको छ ।

गाउँपालिकाले औद्योगीक ग्राम स्थपना गरि सबै खालका उद्योग धन्दाहरु एकैठाउँबाट सञ्चालन गर्ने नीतिलाई अवलम्बन गर्ने भएको छ । उक्त क्षेत्रमा सञ्चालित व्यापार, व्यवसाय तथा अन्य साना घरेलु उद्योगहरुको विवरण तयार गरी करको दायरमा ल्याउने नीति ल्याएको छ ।

मुख्य स्रोतको रुपमा रहेको ढुंगा गिटी तथा बालुवाको सही ढंगबाट व्यवस्थापन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी टेण्डर प्रणाली लागू गरिने भएको छ । अवैध ढुंगा, गिटी, बालुवा, निकासीलाई करको मुलधारमा ल्याइने नीति ल्याएको छ ।

त्यस्तै, हाम्रो दोर्दी नामक स्थानिय पाठ्य पुस्तक निर्माण गरी पालिकाको विद्यालयमा लागू गरिने भएको छ । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै बालकक्षा देखि ६ कक्षा सम्म दिवा खाजको व्यवस्था गर्ने, सबै विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने भएको छ ।

दोर्दी गाउँपालिकामा निर्माण हुने संरचनाहरु महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगतामैत्री बनाउँदै लगिने भएको छ । सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने कार्यलाई अगाडी बढाइने भएको छ । पालिकाभित्र रहेको मुख्य बजारहरुमा सडक बत्ती तथा सिसी क्यामेरा जडान गर्ने भएको छ । बेरोजगार सूचिमा परेका बरोजगार युवाहरुलाई न्युनत्तम एकसय जनालाई रोजगार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।