२ कार्तिक २०८३, सोमबार

ताप्लेजुङमा बाढीपहिरो प्रभावितका लागि राहत पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ६ असार । ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ ।

सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो । कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन् । शनिबारदेखि वर्षासँगै आएको बाढी र पहिरामा परी उक्त ठाउँका तीन जनाको ज्यान गएको छ भने एकै परिवारका तीन बेपत्ता छन् ।

पहिराले स्वास्थ्य चौकीको भवन नै पुरेपछि औषधि अभाव भएको छ । केही औषधि पुरिएकै ठाउँबाट निकालेर घाइतेको प्राथमिक उपचार गरिएको थियो।

यसैबीच मृतकका परिवार तथा आफन्त र बाढी पहिराबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरी मापदण्डअनुसार राहत उपलब्ध गराउन पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

मङ्गलबार बसेको बैठकले राहत र उद्धारका लागि विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन आग्रहसमेत गर्ने निर्णय गरेको थियो ।