५ कार्तिक २०८३, बिहिबार

प्रतिनिधिसभा बैठक: ६ जना सांसदद्वारा छुट्टाछुट्टै खर्च कटौतीको प्रस्ताव पेस

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । विनियोजन विधेयक अन्तर्गत सञ्चार, परराष्ट्र र ऊर्जा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि ६ जना सांसदहरुले छुट्टाछुट्टै खर्च कटौतीको प्रस्ताव राखेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकमाथि सांसद सुमना श्रेष्ठ, दामोदर पौडेल, दीपा शर्मा, गोकर्ण विष्ट, प्रेम सुवाल र प्रभु साहले खर्च कटौतीको प्रस्ताव राखेका हुन् ।

खर्च कटौतीको प्रस्ताव राख्दै सांसद सुमना श्रेष्ठले सञ्चार मन्त्रालयले बिभिन्न नीति बनाउन १७ लाख रुपैयाँ छुट्टाएको भन्दै यसले नपुग्ने बताए । उनले उद्योग मन्त्रालयका विभिन्न कार्यक्रमहरू डिजिटल नाम जोडेर सञ्चार मन्त्रालय अन्तर्गत ल्याउनु उचित नभएको जिकिर गरिन् ।

सांसद गोकर्ण विष्टले विद्युतको माग र वितरणको सन्तुलन मिल्न नसकेको धारणा राखे । विद्युत् उत्पादन बढे पनि नयाँ प्रसारण लाइन निर्माण हुन नसकेको, वितरण लाइन प्रभावकारी नरहेको अवस्थामा बजेटले यसलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । बिष्टले नेपालमा उत्पादित बिजुलीलाई अन्य देशमा बेच्ने कुरामा सरकारको ध्यान रहेपनि अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई सरकारले गम्भीर रुपमा नलिएको बताए ।

त्यस्तै सांसद प्रेम सुवालले भारतसंग विद्युत व्यापार गरेर व्यापार घाटा गर्ने सरकारको योजनामा नेपालका नदी नालाहरू भारतलाई बेच्ने प्रयत्न भएको आरोप लगाए । उनले नेपाललाई नै सस्तोमा बिजुली दिनुपर्ने भन्दै नेपालको बिजुली भारतलाई बेचेर महँगोमा ग्यास आपूर्ति गर्नुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने जिकिर गरे । सुवालले भारतीय राजदूतको पछिल्लो अभिव्यक्तिपछि राजदूतलाई फिर्ता बोलाएर स्पष्टिकरण लिनुपर्ने धारणा राखे ।

सांसद दीपा शर्माले श्रम गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगले वैदेशिक रोजगारीमा गएका श्रमिकका पक्षमा प्रभावकारी भूमिका खेल्न नसकेको बताइन् ।