
काठमाडौं, ४ असार । न्यायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गरेको हो । चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए ।
त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा रहेको थियो । मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो ।
तर, त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै चलाउनेले काठमाडौं जिल्ला अदालत पुगेर आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।
प्रहरीले न्याय माग्न पुगेका चलाउनेलाई उल्टै होहल्ला गरेको भन्दै पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।















प्रतिक्रिया