
हेटौंडा, २ असार । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरुले प्रदेश सरकालाई सार्वजनिक कार्यक्रममा बहिष्कार गर्ने भएका छन् ।
शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेश सरकारले शुक्रबार ल्याएको बजेटमा प्रदेश राजधानी हेटौंडा प्राथमिकतामा नपरेको भन्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र उनका मन्त्रीहरुलाई बहिष्कार गर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा-१४ का वडाध्यक्ष दीपक खड्काले प्रदेश सरकारले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरुले प्रदेशका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने तयारीमा रहेको बताए । उनले प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुन बाध्य हुने समेत बताए ।
हेटौंडा-१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले प्रदेशको राजधानी हेटौंडा भएको र त्यसमा पनि १० नम्बर वडामा प्रदेशका मन्त्रालयहरु देखि प्रदेश सभा भवन लगाएत धेरै सरकारी भवनहरु भएको तर यहाँकै पूर्वाधार विकास निर्माणमा बजेट शून्य पार्नुले राजधानीलाई पछि पार्न खोजेको आशंका व्यक्त गरे । उनले राजधानी हेटौंडालाई नियोजित ढंगले बजेट नहाल्नुले राजधानी सार्न खाजेको भान भएको बताए ।
यसैगरी, हेटौंडा-१९ का वडाध्यक्ष नरनाथ सुवेदीले प्रदेश सरकारको बजेट पूवाग्राही ढंगले आएको बताउँदै बजेट संशोधन हुनुपर्ने बताए । उनले प्रदेशको बजेट पूर्वाधार, रोजगारसँग नजोडिएको टिप्पणी गर्दै प्रदेश सरकारले आफ्नो दलका कार्यकर्ता पाल्ने ढंगले मात्रै बजेट ल्याएको दाबी गरे । उनले प्रदेश सरकारले बजेट सच्याउँदै प्रदेशका सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट विनियोजन गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा-५ का वडाध्यक्ष शुशिल घिमिरे, हेटौंडा-११ की वडाध्यक्ष जुना दाहाल, हेटौंडा-१५ का वडाध्यक्ष सुनिल मोक्तानले प्रदेशको बजेट हचुवाका भरमा पहुँचवालाले पाउने गरी बनेको बताउँदै बजेट संशोधन हुनुपर्नेमा जोड दिए । उनीहरुले हेटौंडाको विकासलाई पछि पार्न खोजिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।











प्रतिक्रिया