
महोत्तरी, ३१ जेठ । मधेशमा पछिल्ला १० वर्षमा जनसंख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८ र २०७८ राष्ट्रिय जनगणनाबीचको अवधिमा यो संख्या बढेको राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौंले मंगलबार बर्दिबासमा राष्ट्रिय जनगणना–२०७८ को नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरेर जानकारी दिएको हो ।
यसअघि २०६८ को राष्ट्रिय जनगणनामा मधेसको जनसंख्या ५४ लाख चार हजार एक सय ४५ थियो । २०७८ को गणनामा यो संख्या बढेर ६१ लाख १४ हजार छ सय पुगेको छ । पुरुष ३० लाख ६५ हजार सात सय ५१, महिला ३० लाख ४८ हजार आठ सय ४९ र अन्य लिङ्गी (तेस्रोलिङ्गी) दुई हजार नौ सय २८ रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक मनोहर घिमिरेले जानकारी दिए ।
मधेशको वार्षिक जनसंख्या वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा निकै बढी पाइएको छ । पछिल्लो गणनामा राष्ट्रिय जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत वार्षिक देखिएको छ तर मधेसमा यो दर १.१९ प्रतिशत रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । मधेशभित्र सबैभन्दा बढी जनसंख्या वृद्धिदर रौतहटमा १.६३ प्रतिशत र सबैभन्दा कम पर्सामा ०.८२ प्रतिशत रहेको निर्देशक घिमिरेले स्पष्ट पारे ।
यसैगरी मधेशमा पछिल्ला १० वर्ष (२०६८–२०७८) बीच परिवार संख्या पनि बढेको छ । विसं २०६८ मा नौ लाख ३२ हजार तीन सय आठ परिवार रहेका थिए । यो संख्या २०७८ मा बढेर ११ लाख ५६ हजार तीन सय ८३ पुगेको छ । यो वृद्धिदर २४.०१ प्रतिशत भएको प्रतिवेदन उद्धृत गर्दै घिमिरेले बताए ।
मधेशमा पछिल्लो जनसंख्या तालिकाअनुसार सबैभन्दा बढी जनसंख्या धनुषामा आठ लाख ६७ हजार सात सय ४७ र सबैभन्दा कम पर्सामा छ लाख ५४ हजार चार सय ७१ रहेका उल्लेख छ । त्यसैगरी तालिकामा बढी जनसंख्या क्रममा धनुषापछि सर्लाही, रौतहट, बारा, सिरहा, महोत्तरी र सप्तरी छन् । कार्यक्रम राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख मुनिकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।











प्रतिक्रिया