२९ आश्विन २०८३, बिहिबार

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ ।

आज बिहान ९:४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना यात्रु ओरालेर काठमाडौँका लागि उडान भरेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए । मलेसियामा रोजगारी गरी फर्केका र मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवा विमानस्थलमा ओर्लिएको सहप्रवक्ता घिमिरेको भनाइ छ ।

भैरहवास्थित यस विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र राज्यमन्त्री सुशीला शिर्पालीले विमानस्थलमा स्वागत गरेका थिए ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइनसको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको शुभारम्भ गर्दै पर्यटन मन्त्री सुदन किरातीले यसको निरन्तरता चुुनौतीपूर्ण भएको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनमा व्यावसायिक उडान सुरु भएकाले यसको नियमितताका लागि सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने बताएका छन् । उनले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन निर्देशन दिए ।

मन्त्री किरातीले निगमलाई पूर्ण व्यावसायिकरुपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले निगमका लागि पारदर्शी ढङ्गले जहाज किन्ने प्रक्रियामा रहेको जानकारी दिएका छन्। उनले दुर्गम क्षेत्रमा सेवा दिनका लागि घाटा भए पनि जहाज किन्नुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पालीले लुम्बिनी प्रदेशको पहिचान, धरोहर, बुद्वलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विमानस्थल निर्माण भएकाले यसको नियमित व्यावसायिक सञ्चालनमा सरकारको जोड रहेको बताइन् ।

उनले विमानस्थल नियमित सञ्चालन नहुँदा धेरै तर्फबाट प्रश्न उठेको बताउँदै सञ्चालन निरन्तरता हुन नसक्नुमा राजनीतिक अस्थिरता पनि मुख्य रहेको बताइन् ।

कार्यक्रममा पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं ३ का सङ्घीय सांसद दीपक बोहोराले राष्ट्रिय ध्वजावाहक जहाजले व्यावसायिक उडान सुरु गर्दा गौतमबुद्ध विमानस्थलको प्रभावकारी सञ्चालन हुनेमा आशा पलाएको बताए ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले मलेसिया उडानको सुरुआत हुनु महत्वपूर्ण उपलब्धि रहेको बताए। उनले महेन्द्रनगर नाकाबाट अवतरण गर्ने प्रक्रियाका लागि सरकारका तर्फबाट प्रयास भइरहेको बताउँदै अन्य विमान सेवा कम्पनीलाई यस विमानस्थलबाट उपलब्ध हुने सेवा र रूटसँग सम्बन्धित विषयमा आश्वस्त पारे ।

सचिव अधिकारीले भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको मागबमोजिम आगामी आर्थिक वर्षदेखि भैरहवामा पर्यटन बोर्डको शाखा स्थापना गरी सेवा सञ्चालन हुने जानकारी दिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगममा जहाज थपिएपछि व्यावसायिकरूपले नियमित उडान गर्न सकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश संयोजक कृष्णप्रसाद शर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुन नसक्दा निजी क्षेत्र विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरे ।

विमानस्थल निर्माण गर्दा सरकारले रु ४० अर्ब र विमानस्थललाई हेरेर निजी क्षेत्रले रु ८० अर्बभन्दा बढी लगानी गरेको उनको भनाइ छ ।

विसं २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । तत्कालीन समयमा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान भने कुबेतको अल जजिरा एयरलायन्सले गरेको छ ।

जजिरापछि हिमालय एयरलायन्सले कात्तिकमा मलेसियाको चार्टर उडान गरे पनि हाल यी दुवै कम्पनीका जहाजले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिन सकेका छैनन् ।