२९ कार्तिक २०८३, आइतबार

धरानबासीका लागि खानेपानी ल्याउन सफल भए हर्क साम्पाङ

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरानबासीको लागि खानेपानी ल्याउने परीक्षण सफल भएपछि भावुक भएका मेयर हर्क साम्पाङ

धरान, ३० जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा निवार्चित भएका साम्पाङले आफ्नो पहिलो प्राथमिकता खानेपानी समस्या हल गर्ने बताएका थिए । उनको पहिलो प्राथमिकता धरानबासीलाई खानेपानी ल्याउने थियो । उनको निरन्तर प्रयास र मेहनतले गएराति १२ः३ बजे पानी ल्याउने परीक्षण सफल भएको छ ।

पानी ल्याउन परीक्षण सफल भएपछि मध्यरातमा उनी भावुक देखिएका थिए । पानी ल्याउनकै लागि मेयर साम्पाङसँगै धेरै धरानबासी रातभर जाग्राम बसेका थिए ।

पानी ल्याउने परीक्षण सफल भएपछि सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै मेयर साम्पाङले भनेका छन्, ‘हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश ! श्रम गरौँ सबै मिली बनाऔँ यो देश !’

मेयर साम्पाङले कोकाहा खोलाको पानीमा नुहाउन धराने जनतालाई आह्वान समेत गरेका छन् ।

उनले कोकाहा खोलालाई धरानमा स्वागत गरिएको भन्दै भनेका छन् ‘आज ११ बजे देखि कोकाहा खोलाको पानीमा नुहाउने कार्यक्रम रहेको छ ! कोकाहाको पवित्र जलले नुहाउन धरान २० को माया धराने साबुन फ्याक्ट्री निर्माण स्थल छेऊ पकुवा खोलामा आउनु होला ! जय श्रमदान !’

धरानबासीको लागि खानेपानी ल्याउन सफल भएका मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा धेरैले बधाई तथा शुभकामना दिइरहेका छन् ।

यसैबीच, मेयर साम्पाङले खानेपानी जुटाउन अनेक प्रयास गर्दा कहिल्यै कुनै किसिमको सहयोग नगर्नेहरुले पानीको विषयलाई लिएर आफूलाई मुद्दा हालेको समेत खुलाएका छन् ।

फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘मैले दिन रात एक बनाएर खानेपानी जुटाउन अनेक प्रयास गर्दा कहिल्यै कुनै किसिमको सहयोग नगर्ने तर म खानेपानी बोर्डको सदस्य हुँ भन्दै मलाई फेरि मुद्दा हालेछन् मनोज भट्टराई, श्याम पोख्रेल, विजय श्रेष्ठ र देवराज श्रेष्ठ भन्नेहरुले !’