बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

युरोपमा नेपाली पठाउने कन्सल्टेन्सीमा प्रहरीको छापा

दैनिक नेपाल २०८० जेठ २६ गते १३:५२

काठमाडौं, २६ जेठ । वैदेशिक रोजगारीका लागि गैर कानुनी रूपमा लाखौ रकम अशुलेर विभिन्न देशमा कामदार पठाउन खोज्ने कन्सल्टेन्सीहरुमाथि वैदेशिक रोजगार विभागले निगरानी बढाएको छ ।

यसैक्रममा विभागले वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका विभिन्न देशमा कामदार पठाउन खोज्ने  कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा छापा मारेको हो ।

सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारका लागि भन्दै विज्ञापन गरिएको आधारमा छापा मारेर तीन थान ल्यापटप, २० थान स्क्यानिङ पासपोर्ट, ३ थान डिमान्ड लेटर लगायतका कागजात जफत गरिएको विभागले जानकारी दिएको छ ।

उनीहरूको साथबाट सङ्कलन गरिएका २० थान पासपोर्ट समेत नियन्त्रणमा लिइएको हो । सामाजिक सञ्जालमा गैर कानुनी रूपमा विज्ञापन प्रकाशन गरी ठुलो रकम असुली गरेर विभिन्न देशमा नेपाली कामदार पठाउने गरेको भन्ने उजुरी समेत विभागमा परेको थियो । उक्त कन्सल्टेन्सीहरूले टिकटक तथा फेसबुकको प्रयोग गरी गैर कानुनी रूपमा सूचना दिने गरेको र त्यही आधारमा लाखौं रुपैयाँ लिने गरेको पाइएको विभागले जनाएको छ ।

कन्सल्टेन्सीले कम्तीमा ५० हजारदेखि एक लाख अग्रिम असुल गरेको समेत पाइएको छ । पछिल्लो समय कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीका घटना बढ्दो क्रममा छन् ।

सामाजिक सञ्जालको प्रयोग गरी नागरिकहरुको लाखौं रुपैयाँ असुल गर्दै श्रमिकहरूमाथि ठगी गर्ने गरेका घट्ना बढ्न थालेसँगै विभागले त्यस्तो कार्य निरुत्साहित पार्नका लागि अनुगमनलाई तीव्रता दिइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित