
काठमाडौं, २६ जेठ । नेकपा एमालेका सांसद योगेश भट्टराईले कोशी प्रदेशको नामको विषयलाई लिएर एमालेका नेताहरूमाथि किन आक्रमण भइरहेको छ भन्दै गृहमन्त्रीको जवाफ मागेका छन् ।
प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर सांसद भट्टराईले पार्टी अध्यक्ष केपी ओली र उपनेता सुवास नेम्वाङ् पूर्वको कार्यक्रममा जाँदा एम्बुस थाप्ने लगायतका काम गरी हत्या प्रयास भएको समेत दाबी गरे ।
उनले कोशी प्रदेशको नाम के राख्ने त्यो कोशी प्रदेशसभाको अधिकारको कुरा हो, तर यही नाममा विगत १ महिनादेखि आफ्नो पार्टीका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङको टोली पूर्वको विभिन्न क्षेत्रमा जाँदा झापा, इलामदेखि तेह्रथुमसम्मका सडकमा अवरोध सिर्जना गर्ने, रुखहरू ढाल्ने, ढुङ्गा मुढा गर्ने, कालो झन्डा देखाउने र केही ठाउँमा एम्बुस समेत थापिएको कुरालाई स्मरण गराए।
सांसद भट्टराईले यो कुरा यसअघि पनि संसदमा आफूले उठाएको बताए । सर्वसाधारणदेखि सबैको जिउधनको सुरक्षा गर्नुपर्ने सरकारको दायित्व भएको बताउँदै उनले यो देशको ठुलो नेतालाई कार्यक्रम गर्न जाँदा एम्बुस थापेर मार्न खोजिएको आरोप लगाएका छन् ।
विराटनगरमा प्रदर्शनको क्रममा एक जनाको मृत्यु भएको बताउँदै पुलिसले लाठीचार्ज गरेर मारिएको हो कि आन्दोलनकारीको तर्फबाट हानेको कुरा आएको भन्दै त्यसको जवाफ माग गरेका हुन्।
उनले हिजो मात्रै पार्टीको कोशी प्रदेशका सदस्य, कोशी प्रदेश सभामा एमाले संसदीय दलका उपनेता राम रानामाथि इलामको सोम्याक भञ्ज्याङ्मा साङ्घातिक हमला भएको सदनलाई जानकारी गराए । उनीमाथि मोबिल छर्केर जलाउने प्रयास भएको बताए । यस्तै उदयपुरमा सिर्जना दनुवारको गाडि तोडफोड सहित हातपात समेत भएको बताउँदै नजिकै डिएसपीको कमान्डमा प्रहरी चौकी भए पनि किन केही नगरेको भन्दै प्रश्न गरे ।













प्रतिक्रिया