
काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ दोङले ललितपुर जिल्लाको बागमतीदेखि काभ्रेको तालढुंगा हुँदै पनौतीसम्म धार्मिक करिडोरको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद तामाङले बाग्मतीदेखि तालढुंगा, ढुंखर्क हुँदै पनौतीसम्म धार्मिक करिडोर बनाउन सके आन्तरिक पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताएका हुन् ।
सांसद दोङले आफ्नो निर्वाचन क्षेत्र काभ्रेको डाँडापारी क्षेत्रको बजेट काटिएको अर्थमन्त्रीको ध्यानाकर्षण पनि गराएका छन् । बजेटका सकारात्मक पक्षहरूलाई स्थापित गर्दै बाँकी समेट्नु पर्ने विषयवस्तुहरूलाई पनि केन्द्रीकृत गर्दै जानुपर्ने सुझाव सांसद तामाङले दिए ।
औद्योगिक, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा बजेटले ग्रहण गर्न खोजको कुरा सकारात्मक रहेको भन्दै उनले सकारात्मक हुँदा हुँदै पनि बजेटमा केही कुरा समेट्न अझै बाँकी रहेको बताए ।
सरकारको दश वर्षमा दशहजार मेगावाट विद्युतको विकास र विक्री विस्तार गर्ने योजना सँगै सुनकोशी र कोखाजोर खोलालाई पनि ध्यान दिनसके योजनामा थप टेवा पुग्ने धारणा दोङले राखे ।
फरक प्रशंगमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि मुर्रा राँगा, भैँसीको कुरालाई जोडेर अनावश्यक टिप्पणी गरिएको भन्दै कुनै समय कुकुरसमेत ल्याइएको स्मरण गर्दै राँगा, भैँसी ल्याउँदा आलोचना गर्नुपर्ने आवश्यकता नरहेको बताए ।















प्रतिक्रिया