
दोलखा २४ जेठ । बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत ज्यालादारी कर्मचारीलाई करार नियुक्त गरिने भएको छ ।
आफूहरूलाई करार नियुक्त गगरिनुपर्ने माग राखेर ११ दिनदेखि धर्नामा बसिरहेका कर्मचारीसँग आयोजनाले आज सहमति गर्दै आफ्ना कर्मचारीलाई करार नियुक्तिको सुनिश्चितता प्रदान गरेको हो । सहमति अनुसार करार नियुक्त गर्न बाँकी ३६ जना कर्मचारीलाई आगामी तीन महिनाभित्र नियुक्ति दिइने छ ।
आयोजना र कर्मचारीबीच भएको सहमतिमा आयोजनाका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतम, प्लान म्यानेजर पूर्णगोपाल रञ्जित तथा प्रशासन अधिकृत अनिता बजगाईं र मित्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् । यस्तै, कर्मचारीहरूको तर्फबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ज्यालादारी कर्मचारी संघर्ष समितिका संयोजक राजकुमार श्रेष्ठ तथा वार्ता टोलीका सदस्यहरू दानबहादुर तामाङ, प्रकाश थापामगर र बुद्धिमान खड्काले हस्ताक्षर गरेका छन् ।
बिगु गाउँपालिका वडा नं. १ लामाबगर र गौरीशंकर गाउँपालिका वडा नं. ९ गौरीशंकरका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सबै राजनीतिक दल र बुद्धीजीवीहरूको रोहबरमा सहमति गरिएको संघर्ष समितिका संयोजक श्रेष्ठले जानकारी दिए । उनका अनुसार आयोजनाले सञ्चालक समितिबाट कर्मचारी नियुक्तिको कोटा स्वीकृत गराई तीन महिनाभित्र करार नियुक्त गरिसक्ने सहमति भएको छ ।
सहमतिसँगै आन्दोलनरत सबै कर्मचारीहरू आ–आफ्नो काममा फर्किएका छन् । आयोजना निर्माणको सुरूवाती चरणदेखि नै ज्यालादारीमा काम गर्दै आएका प्रशासन र सवारीचालकतर्फका ३६ जना कर्मचारीले करार नियुक्तिको माग गर्दै ११ दिनदेखि आयोजनाको मुख्य कार्यालय गोंगरमा धर्ना दिदै आएका थिए ।
आयोजना निर्माणको चरणमा आइपरेका प्राकृतिक प्रकोप, बाढीपहिरोलगायत विपद्को समयमा समेत दिनरात नभनी ज्यानको बाजी लगाएर अनेक दु:ख र कष्टका साथ विचलित नभइ निरन्तर काम गर्दै आएको हुनाले करार नियुक्तिको प्राथमिकतामा आफूहरूलाई पार्नुपर्ने तर्क कर्मचारीहरूको रहँदै आएको छ ।
आफूहरूको ऊर्जावान समय आयोजनाको विकास र निर्माणमा खर्च भइसकेको र अहिले आएर आ–आफ्नो परिवारको भविष्य समेत आयोजनाले दिने रोजगारीसँग जोडिएको संयोजक श्रेष्ठको भनाइ छ ।











प्रतिक्रिया