२८ आश्विन २०८३, बुधबार

बजेटमा परिवर्तन नगरे सत्ता अहंकारको भूत झारिदिन्छौँ : केपी ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

आज मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै ओलीले वर्तमान सरकार नेपाललाई विकशित देशको रुपमा रुपान्तरण गर्न नसक्ने बजेट ल्याएको सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता, नेपालको समृद्धिका साथै देशको हितविपरीत आएको बजेटलाई स्वीकार गर्न नसकिने जिकिर गरेका छन् । बजेट संसदबाट अंकगणितीय हिसाबले पास हुन सक्ने भए पनि व्यावहारिक रुपमा काम गर्न नसक्ने टिप्पणी उनको छ ।

उनले गठबन्धनको जीवनरक्षाका लागि मात्रै आएको बजेट भएको र नेपाल र नेपालीको हितका लागि नआएको तर्क गरे ।

यस्तै, अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै बजेटले लिएको लक्ष्य पूरा नहुने दाबी गरे ।

उनले पूँजीगत खर्च घटाउनु युवाहरुको अपेक्षालाई पूरा गर्न नसक्नु मात्रै भएको बताउँदै घट्दो पूँजीगत खर्चबाट मुलुकको आर्थिक विकासको लक्ष्य समेत पूरा हुन नसक्ने जिकिर गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले सम्पूर्ण नेपाली र नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्यापमा बजेट प्रस्ताव गर्न चुकेको जिकिर गरेका छन् ।

उनले रोजगारीको अवसर सिर्जना गर्ने, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्ने, बढ्दो मूल्य नियन्त्रण गर्ने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी बनाउने लक्ष्य बजेटले लिन नसकेको धारणा व्यक्त गरेका छन् ।

यसैगरी उनले अहिले पन्ध्रौँ पञ्चवर्षीय योजनाको अन्तिम वर्ष भएकाले त्यो पूरा गर्ने अगामी १६औँ पञ्चवर्षीय योजनाको सुरुवातका लागि समेत बजेटले स्पष्ट खाका तयार गर्न नसकेको बताएका छन् ।

राष्ट्रिय आत्मनिर्भरता खाद्यान्न भए पनि व्यावसायिक कृषिका विषयमा बजेट मौन रहेको बताए । ओलीले बजेटमा रहेका अव्यावहारिक विषयहरुलाई सच्चाउनुपर्ने बताए । बजेटमा परिवर्तन नगरे सत्ता अहंकारको भूत झारिदिने चेतावनी अध्यक्ष ओलीको छ ।