शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सिंगापुर प्रस्थान

दैनिक नेपाल २०८० जेठ २२ गते २०:५२

काठमाडौं, २२ जेठ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सिंगापुर प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा सञ्चालन हुने ‘हेड अफ एनसीबी कन्फ्रेन्स’मा सहभागी हुन आज सोमबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित विदाइ गरे ।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएकामा इन्टरपोलको उक्त झण्डा प्रहरी महानिरीक्षक कुँवरबाट कन्फ्रेन्सको दौरानमा इन्टरपोलका अध्यक्ष हमिद नासिर बल–रैसीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

हेड अफ एनसीबी कन्फ्रेन्समा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने गर्छ । कन्फ्रेन्समा इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आ–आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदान प्रदान गर्नेछन् ।

इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने हेड अफ एनसीबी कन्फ्रेन्स यस वर्ष सन् २०२३ जुन ७ देखि ९ (तद्अनुसार २०८० जेठ २४ देखि २६ गते) सम्म सिंगापुरमा सम्पन्न हुनेछ । कन्फ्रेन्समा एनसीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत सहभागी हुनेछन् ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित