
काठमाडौं, २२ जेठ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकलाई तरङ्गित गरेको भन्दै मुलुकको भूमि साटफेरको विषय उठाउनु उचित नरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आज विशेष समय लिएर आफ्नो धारणा व्यक्त गर्दै उनले मुलुकको भूमि साटफेर गर्ने हक कसैलाई पनि नभएको बताएका हुन् । ‘मुलुकको भूमि साटफेर गर्ने संवैधानिक व्यवस्था छैन, कुनै ऐन कानून छैन, यस्तो विषय भ्रमणका बेला उठाउन नै मिल्दैन,’ अध्यक्ष ओलीले भने, ‘मुलुकको भूमि संरक्षण, सार्वभौम तथा राष्ट्रिय अखण्डतामा कसैसँग सम्झौता गर्न सकिदैन ।’
देशको सीमा समस्या बंगलादेश मोडलमा समाधान गर्न नसकिने उनको भनाइ छ ।
आजको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बंगलादेश मोडलमा समस्या समाधान गर्ने विषय भ्रमणका क्रममा नउठाएको बल्कि नेपालका विज्ञहरुले उठाइरहेको विषय जानकारी गराएको प्रष्ट पारेका थिए । भारत भ्रमणलाई लिएर सांसदहरुले बैठकमा कुरा उठाएपछि प्रधानमन्त्रीले त्यसमा प्रष्ट पारेका थिए ।
तर, अधिकांश जवाफ त्यति चित्तबुझ्दो र मननयनेग्य थिएन । त्यसपछि आफ्नो धारणा व्यक्त गरेको एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देशको प्रधानमन्त्री र अभिभावक भएकाले देशप्रति जिम्मेवार बन्नुपर्ने बताए । ‘प्रधानमन्त्रीको अपमान हुँदा व्यक्तिको हुँदैन, देशकै अपमान हुन्छ,’ अध्यक्ष ओलीले थपे, ‘देशको प्रधानमन्त्री देशप्रति जवाफदेही हुन्छ, मुलुकप्रति जिम्मेवार हुन्छ ।’
नागरिकता विधेयक संसदमा ल्याएर प्रक्रियामार्फत पारित गरेर प्रमाणीकरण गर्नुपर्ने उनले बताए । संसद बैठकलाई बाइपास गरेर नागरिकताजस्तो गम्भीर विधेयकलाई अगाडि बढाउन नहुने उनको भनाइ छ । सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेकाले पुन: त्यसलाई संसदमा ल्याएर टुङ्गो लगाउनुपर्ने सुझाव अध्यक्ष ओलीको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनु मात्र भएको बताएका छन् । १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको उनको दाबी छ । ‘प्रधानमन्त्रीले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो’, उनले भने, ‘चढेर ल्याए पनि, हिँडाएर ल्याए पनि, डोर्याएर ल्याए पनि त्यही राँगा हो ।’
प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताएका छन् । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि उनले बताए ।
उनले भने, ‘अमलेखगञ्जको पेट्रोलियपम पाइपलाइन पुरानै परियोजना हो । कति–कति मिटर गर्दै गरेपछि शिलान्यास गर्नु हुन्छ ? यी सबै पहिले नै भएका सहमति हुन् । अहिले प्रधानमन्त्रीले ल्याएको भनेको त्यही राँगा हो ।’
छोरीलाई फस्र्ट लेडी माने नातिनी सेकेन्ड लेडी मान्ने होला
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा अनेकन कूटनीतिक कमजोरी छताछुल्ल भएको बताएका छन् । सोमबर प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले भारत भ्रमणका क्रममा पीएका रुपमा रहेकी छोरीलाई प्रचण्डले फस्र्ट लेडीका रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गरे ।
‘प्रधानमन्त्रीको भारत भ्रमणमा पिए छोरी छेउमा देखिन्छिन्। तर परराष्ट्र मन्त्री छैन, परराष्ट्र सचिव छैनन्’, अध्यक्ष ओलीले भने, ‘फस्र्ट लेडी भनेको श्रीमती हुन्छन्, छोरा वा छोरी हुँदैनन् । फस्र्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन ।’
अध्यक्ष ओलीले यदि भ्रमणमा छोरा लाने हो भने फस्र्ट जेन्टलम्यान भन्ने अवस्था आउने पनि बताएका छन् । ‘छोरालाई लाने हो भने फस्र्ट जेन्टलम्यान भन्ने त ? नातिनी लिएर जाँदा सेकेन्ड लेडी भन्ने त । वार्तामा परराष्ट्रमन्त्री हुनुपर्छ, मन्त्रीहरु हुनुपर्छ । शिष्टाचार महापाल हुनुपर्छ,’ ओलीले भने ।
प्रधानमन्त्रीको भ्रमणमा अफिसियल मेमेरीका लागि टिपोट समेत नगरिएको भन्दै ओलीले आलोचना गरे । उनले भ्रमणबारे पनि प्रश्न उठाएका छन् । ‘यो भ्रमण फ्यामिली कि लागि हो कि धार्मिक हो कि पर्यटकीय हो कि के हो ?’, ओलीले भने, ‘यस्तो खालको कमजोर कूटनीतिक उपस्थिति यसअघि देखिएको थिएन ।’
‘शान्ति प्रक्रियामा सहभागी भएका हौं, ‘जनयुद्ध’लाई जयजयकार गर्न सकिँदैन’
अध्यक्ष ओलीले कांग्रेसलाई सत्ता भए पुग्ने बताउँदै कांग्रेसको के नीति भन्ने नै अस्पष्ट रहेको बताएका छन् । ‘फागुन १ गते दिवस मनाउने ? यो राष्ट्रिय दिवस हो ? हामी शान्ति प्रक्रियामा पो सहभागी भएका हौं त । पुराना कुरा छाडेर त्यस्ता गतिविधिलाई हाइहाइ गर्न होइन । त्यस्तो कुरालाई जयजयकार गर्न होइन । कांग्रेसले के गर्छ थाहा छैन । चुपचाप लागेको देखियो,’ ओलीले भने ।
फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसक्ने ओलीको प्रष्टोक्ति छ ।
नागरिकता विधेयक पुन: संसदमा ल्याउनुपर्छ
राष्ट्रपति रामचन्द्र पौडेलबाट गैरसंवैधानिक ढंगबाट प्रमाणकीरण गराइएको नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने धारणा ओलीको छ । अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुन: संसदमा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाइ छ ।
भारत भ्रमण असफल
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण असफल भएको टिप्पणी ओलीको छ । उनले प्रधानमन्त्रीको भारत भ्रमण फितलो प्रदर्शन भएको आरोप लगाउँदै असफल भएको बताएका हुन् ।
भारतसँगको द्विपक्षीय वार्तामा बस्दा नेपालको परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व नदेखिएको तथा महत्वपूर्ण वार्ताका समयमा समेत मन्त्री, सचिव, शिष्टाचार महापाल पनि बैठकस्थलमा नदेखिने गरेकाले भारतको औपचारिक भ्रमण फितलो हुन पुगेको उनको आरोप छ ।
ओलीले असंलग्न परराष्ट्र नीतिलाई नेपालले बिर्सन नहुने सुझाव पनि दिएका छन् । बङ्गलादेश र भारतले जमिन लेनदेन गरेर सीमा समस्या समाधान नभएको दृष्टान्त पेश गर्दै नेता ओलीले जमिन दिएर बङ्गलादेश मोडेलमा सीमा समस्या हल गर्न खोजिएको भन्ने चर्चा बजारमा सुनिएकाले यस्तो कुरा सोच्न पनि नसकिने उनको भनाइ छ ।











प्रतिक्रिया