
काठमाडौं, २२ जेठ । आइतबार स्थगित प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
आजको बैठक पनि अवरुद्ध हुने देखिएको छ । यसअघि हिजो आइतबार पनि बैठक सुरु भएको केहि समयमै स्थगित भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।
प्रतिपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर प्रतिपक्षले विरोध कायमै राख्ने भएपछि बैठक आज सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
राष्ट्रपति पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण क्रममा भएका कुराकानीका विषय आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले संसद अवरोध गरेको हो । बैठक सूचारूका लागि सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको थियो ।
नागरिकता विधेयकलाई संसदीय प्रक्रियाबाट अघि बढाउनु पर्ने प्रतिपक्ष दलहरुको माग छ । प्रतिपक्षी दलहरुको विरोधका कारण आइतबार संघीय संसदको दुई सदनको बैठक अवरुद्ध भएको थियो ।
हिजोको बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले वक्तव्य सहित “आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र छलफल सुरु हुने कार्यसूची रहेको थियो ।
आजको बैठकमा पनि सोही कार्यसूची रहेको संसद सचिवालयले जनाइएको छ ।
यसैगरी, आजको बैठकमा सांसद श्याम सुन्दर टिवडेवाल र मीना पाण्डको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची पनि रहेको छ ।












प्रतिक्रिया