
काठमाडौं, २१ जेठ । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ ।
गत जेठ १५ गते बजेट प्रस्तुत भएपछि आज बैठक बस्न लागेको हो । आजको बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले वक्तव्य सहित “आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
त्यसपछि आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सचिवालयले जनाएको छ ।
आजकै बैठकमा सांसद मीना पाण्डको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार सभामुखले “प्रतिनिधि सभाको यो बैठक, नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०४८ र २०५१ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित, वि.सं. २०६४ सालको संविधान सभा निर्वाचन र वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, पूर्व महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री, शालिन र सरल नेतृको रुपमा परिचित मीना पाण्डेको ७२ वर्षको उमेरमा मिति २०८० साल जेठ १६ गते मंगलबार असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।” भन्ने शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।












प्रतिक्रिया