
हेटौंडा, १७ जेठ । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र समेटिएको विरोधमा बागमती प्रदेश सभामा नेकपा (एमाले) ले गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
आज बुधबार दिउँसो बसेको प्रदेश सभा बैठकमा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सभा नियमावली २०७४ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव पेश गरेका थिए ।
सचेतक पौडेलले नेपालको लुम्बिनी र कपिलवस्तु भू-भाग समेटेर भारतले आफ्नो संसद भवनमा नक्सा राखेकोमा प्रदेश सभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रूपमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने भन्दै संकल्प प्रस्ताव पेश गरेका थिए ।
प्रदेश सभाको दोस्रो कार्यकालमा बुधबार पहिलो पटक संकल्प प्रस्ताव पेश भएको हो । एमालेका पौडेलले पेश गरेको संकल्प प्रस्ताव आजैको प्रदेश सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
संकल्प प्रस्तावलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमालेसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी सबैले समर्थन गरेका थिए ।















प्रतिक्रिया