बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रतिनिधि सभाको बैठक आज बस्दै, सरकारले स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने एमालेको अडान

दैनिक नेपाल २०८० जेठ १३ गते ६:२४

काठमाडौं, १३ जेठ । प्रतिनिधि सभाको बैठक आज शनिबार बस्दैछ । शुक्रबार अवरुद्ध भएपछि स्थगित भएको बैठक शनिबार अपरान्ह ४ बजेका बोलाइएको हो ।

शुक्रबार दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनः अर्को सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको थियो । तर बैठक बस्न नसकेपछि शनिबार अपरान्ह ४ बजेका लागि बैठक सारिएको थियो ।

शुक्रबारको बैठकमा पशुपति मन्दिरको जलहरीबारे प्रश्न उठेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विरोध पछि बैठक स्थगित भएको थियो ।

एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । सरकारले स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने एमालेको अडान छ ।

नेकपा (माओवादी)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर तत्कालिन ओली नेतृत्व सरकारले पित्तलको जलहरी हालेको आरोप लगाएपछि एमालेले संसद अवरुद्ध गरेको थियो ।

एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए । त्यसपछि संसद बैठक बस्न सकेको थिएन ।

हिजो शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

आजको बैठकमा पनि सोही कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित