
काठमाडौं, १२ जेठ । नेकपा एमालेले अवरोध गरेपछि दिउँसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।
प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध पछि बैठक स्थगित भएको थियो । त्यस विषयमा बसेको सर्वदलीय बैठक लम्बिएका कारण प्रतिनिधिसभाको बैठक सुरु हुन नसकेको संघीय संसद सचिवालयले बताएको छ । सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी भएर सर्वदलिय बैठक बसीरहेको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले बैठक ३ बजे बस्ने सूचना निकालेका थिए। तर बैठक बस्नका लागि दलहरुबीच सहमति नजुटेका कारण सर्वदलिय बैठक लम्बिएको हो।
नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।
एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।
यसरी स्थगित भएको बैठक बिना सूचना २ घन्टा भित्र सुरु नभएमा स्वत:स्थगित हुने व्यवस्था छ ।













प्रतिक्रिया