
काठमाडौं, १२ जेठ । प्रतिनिधि सभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
संसद सुरू भएलगत्तै नेकपा एमालेले सत्ता पक्षले एमालेमाथि गम्भीर प्रकारको आरोप लगाइरहेको भन्दै सरकारले जवाफ निदिएसम्म संसद चल्न नदिने भन्दै विरोध गरेको थियो ।
बैठकको सुरूमै एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षका सांसदहरूले एमाले नेताहरूमाथि बिना प्रमाण आरोप लगाउने, आक्रमण गर्ने प्रयास गरिरहेको भन्दै सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका हुन् ।
पशुपतिमा सुनको जलहरी राख्दा तत्कालीन केपी शर्मा ओलीको सरकारले भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै सरकारले जवाफ दिनुपर्ने माग सचेतक गिरीले गरेका हुन् ।
‘सत्तापक्षले बिना प्रमाण आरोप लगाउने कुरा स्वीकार्य हुँदैन । हामी यसलाई निन्दा गर्न चाहान्छौँ । त्यो सुन होइन पित्तल हो भने सरकारसँग माग गर्न चाहान्छु । त्यो सुन हो कि पित्तल हो सरकारले जवाफ दिनुपर्छ,’ उनले भने।
सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने एमालेको अडान छ । सभामुख देवराज घिमिरेले बस्नका लागि बारम्बार आग्रह गर्दा पनि एमालेले नटेरेपछि बैठक २० मिनेटका लागि स्थगित गरिएको हो ।
शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम थियो।















प्रतिक्रिया