शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको ढाकाकुमार श्रेष्ठको प्रष्टीकरण

दैनिक नेपाल २०८० जेठ १२ गते ९:११

काठमाडौं, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचार आधारहिन रहेको दाबी गरेका छन् ।

श्रेष्ठले आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको उल्लेख गरेका छन् ।

यसअघि बुधबार रास्वपाका प्रवक्ता मुकुल ढकालले निलम्बित समानुपातिक सांसद श्रेष्ठसँग पैसा मागेको भन्ने पुष्टि गर्न चुनौती दिएका थिए । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले श्रेष्ठसँग २ करोड ८४ लाख मागेको कुरा कसैले पुष्टि गरेमा जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत बताएका थिए ।

‘केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ ।’ ढकालले भनेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ ।’

उनले श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको बताउँदै यसबाट आफ्नो मानहानी भएकाले मुद्दा हाल्ने जनाएका छन् । ‘यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।’ प्रवक्ता ढकालले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित