बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन्ः डा‍ अजयक्रान्ति शाक्य

दैनिक नेपाल २०८० जेठ १० गते ९:५७

काठमाडौं, १० जेठ । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री डा‍. अजयक्रान्ति शाक्यले नक्कली भुटानी शरणार्थी प्रकरण आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

आज बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै नेता शाक्यले शरणार्थी प्रकरण हिरासतमा रहेर बयान दिएका कसैसँग पनि आफ्नो सम्बन्ध नरहेको उल्लेख गरेका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित भएका समाचारप्रति ध्यानाकर्षण भएको पनि बताएका छन् ।

‘हिरासतमा रहेर बयान दिएका गिरोहका नाइके भनिने आरोपित व्यक्ति मेरा लागि बिलकुलै अपरिचित व्यक्ति हुन् । यस्ता अपरिचित व्यक्तिसँग मैले अहिलेसम्म भेटघाट र संवाद समेत गरेको छैन । यस्तो अवस्थामा यस्ता आधारहीन, भ्रामक र कपोलकल्पित बयान किन र कुन उद्देश्यले ती अभियुक्तलाई बोल्न लगाइयो वा बोल्यो म आश्चर्यचकित छु’, उनले भनेका छन्, ‘मसँग बिलकुलै असम्बन्धित र सरोकार नभएको विषयमा मलाई षडयन्त्रपूर्वक समावेश गरी मेरो चरित्रहत्या गर्न खोजेको स्पष्टै देखिन्छ ।’

नेता शाक्यले आफूमाथि लगाएको भ्रामक र कपोलकल्पित आरोपको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् ।

यस्तो छ उनको प्रेस विज्ञप्ति:

नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा केही सञ्चार माध्ययममा प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । यस प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका केही व्यक्तिको बयान भन्द केही सञ्चार माध्ययममा मेरो नाम जोडेर समाचार प्रकाशित भएका छन् । हिरासतमा रहेर वयान दिएका गिरोहका नाइके भनिने आरोपित व्यक्ति मेरा लागि विल्कुलै अपरिचित व्यक्ति हुन् । यस्ता अपरिचित व्यक्तिसंग मैले अहिलेसम्म भेटघाट र सम्वाद समेत गरेको छैन । यस्तो अवस्थामा यस्ता आधारहिन, भ्रामक र कपोलकल्पित वयान किन र कुन उद्देश्यले ती अभियुक्तलाई बोल्न लगाईयो वा बोल्यो म आश्चर्यचकित छु । मसँग विल्कुलै असम्बन्धित र सरोकार नभएको विषयमा मलाई षडयन्त्रपूर्वक समावेश गरी मेरो चरित्रहत्या गर्न खोजेको स्पष्टै देखिन्छ ।सतीले सरापेको देशमा असल काममा लागेको धेरैलाई षडयन्त्रमूलक ढंगले अपमानित गर्ने र कमजोर तुल्याउने हर्कतहरु विगतमा पनि नभएका भने होइनन् । मैले यो षडयन्त्रपूर्वक गरिएको योजनाबद्ध आरोपलाई त्यही श्रृंखलाका रुपमा लिएको छु ।
म लामो समयदेखि राजनीतिक र सामाजिक काममा सक्रिय रहँदै आएको छु । मेरो अहिलेसम्मको राजनीतिक र सामाजिक पृष्ठभूमि र मैले राजनीतिक र सामाजिक जीवनमा गरेका सकारात्मक कामलाई धब्बा लगाउने प्रयास गरी अहिले हठात्रुपमा आएका यस्ता समाचारले मलाई स्तब्ध बनाएको छ । मेरो जीवनको सबै भन्दा विदीर्ण आरोपको रुपमा मैले यस्लाई लिएको छु । पदीय जिम्मेवारीमा रहँदा होस् या जिम्मेवारीमा नरहेको अवस्थामा नै किन नहोस् मेरो बर्कतले भ्यायसम्म मैले समाज र राष्ट्रका लागि गरेका योगदान सफा ऐनामा देखिने मुहार जस्तै छर्लङ्ग छन् ।
तर, अहिले जुन प्रकारको झूठो आरोप कपोलकल्पित र भ्रामक ढंगले ममाथि लगाउने प्रयास भएको छ । त्यसलाई अहिलेसम्म मैले समाज र राष्ट्रका निम्ती गरेको सकारात्मक प्रयासहरुमा कालो धब्बा लगाउने नियतका रुपमा लिएको छु । म आफू पदमा रहंदा आफ्नो कार्य क्षेत्र भित्रका संम्पदा, संस्कृतिको संरक्षण, विकास निर्माण तथा सामाजिक सेवामा गरेको योगदान र गर्न खोजेका सकारात्मक प्रयासहरु मैले आफैले व्याख्या गर्ने भन्दा पनि तत् ठाउँका हेर्न र बुझ्न सकिन्छ । हो, मैले यो चर्चा यहाँ उल्लेख नगर्दा पनि हुन्थ्यो होला । तर, म आफूलाई समाजसेवामा समर्पित गर्दाको आनन्द अन्त कतै प्राप्त गर्न सक्दिन ।
राष्ट्र र राष्ट्रियता मेरा लागि प्राण भन्दा प्यारो छ । विदेशका धेरै अवसरहरुलाई त्याग गरेर एक थोपा रगत र एक थोपा आँसु पनि यहि माटोमा चुहाउने दृढ अठोटका साथ देशको माटोलाई आफ्नो हृदय भन्दा प्यारो ठानेर काम गरिरहेको ममाथि राष्ट्रहित विपरीतको यो गम्भीर आरोप लाग्दा म अचम्मीत, मर्माहत र स्तब्ध हुन पुगेको छु । अहिले जुन योजनाबद्ध रुपको झुठो आरोप ममाथि लागेको छ । यस्ले मेरो राजनीतिक र सामाजिक जीवनमा मात्रै होइन मेरो सरल जीवनलाई पनि भताभुङ्ग बनाउन प्रयासका रुपमा मैले लिएको छु । अहिले मैले नखाएको विषका कारण भोग्नु परेको पीडा कसैले पनि भोग्नु नपरोस् भन्न चाहन्छु ।
मलाई आशा छ, मेरो शुभेच्छुकहरु र नेपाली जनता ममाथि लगाइएको यस्ता भ्रामक र कपोलकल्पित आरोपको भ्रममा पर्नुहुने छैन । केही दिनदेखिका यी अकल्पनीय, भ्रामक र कपोलकल्पित आरोपका छर्राले मलाई शिथिल बनाउने प्रयास गरिरहेको छ । तर आफू पूर्णरुपमा निर्दोष भएको हुनाले अन्त्यमा सत्यको विजय हुनेमा म विश्वस्त छु ।
अजयक्रान्ति शाक्य
प्रतिक्रिया
सम्बन्धित