२९ आश्विन २०८३, बिहिबार

आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । सामाजिक सुरक्षा कोष र रेमिटेन्स  आईएमई लिमिटेड कम्पनीबीच विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलनको सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना अन्र्तगत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलनको सेवा प्रदान गर्नका लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् । सो सम्झौताको कार्यान्वयन पछि विदेशस्थीत आईएमई काउण्टर तथा साझेदारहरु मार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान वापतको रकम कोषमा जम्मा गर्न सक्ने छन् ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार विदेशमा रहेका लाखौं नेपालीहरुलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरि यो सम्झौता अनुसारको छिटै व्यवस्था मिलाइने छ । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रर्वद्धनका लागि समेत सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलको भनाइ छ ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आइएमई तथा यसका साझेदारहरुको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरुलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजना अन्र्तगत कम्तिमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात हाल न्यूनतम रु दुइ हजार दुई मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीनगुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाइएको थियो ।

आईएमई लिमिटेडले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु: ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

सम्झौता हस्ताक्षर समारोहमा कोषका निर्देशक रोशन कोजु र आईएमई लिमिटेडका तर्फबाट बिजनेश डेभलपमेन्ट म्यानेजर श्यामकृष्ण खकुरेलको पनि उपस्थिती थियो ।