
काठमाडौं, ५ जेठ । लम्पी स्किन रोगको सङ्क्रमण देशभर फैलिदै जान थालेको छ ।
बाग्मती प्रदेशभित्रका १३ वटा जिल्लामा मात्रै लम्पी स्किन रोगबाट १८ हजार गाई सङ्क्रमित भएका छन् ।
पहिलो चरणको तथ्याङ्क अनुसार सङ्क्रामक रोग लम्पी स्किनबाट १८ हजार ३ सय २४ गाईमा सङ्क्रमण भएको पाइएको छ । यो रोग बाग्मतीसहित ७ वटै प्रदेशका गरी ३५ भन्दा धेरै जिल्लामा फैलिएको छ ।
लम्पी स्किन रोगबाट सङ्क्रमित केही गाईगोरु मरेका छन् । मकवानपुरमा ४ हजार ८ सय ३५ वटा गाईमा यो रोग देखिएको छ, भने १ सय ९७ गाई मरेका छन् ।
यस्तै, सिन्धुलीमा ९ हजार ६ सय ३४ गाईगोरुमा सङ्क्रमण भएको र ४७ वटा मरेका छन् । रामेछापमा १ हजार ९ सय ६५, चितवनमा १ हजार ६० वटा गाईमा रोगको सङ्क्रमण देखिएको छ । अहिलेसम्म गाईगोरुमा मात्र सङ्क्रमण भएको र भैँसीमा सङ्क्रमण नदेखिएको बाग्मती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिएका छन्
काठमाण्डौमा ८३, ललितपुरमा ४०, काभ्रेमा ४ सय, नुवाकोटमा ३ सय, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखापरेको मन्त्रालयको तथ्याङ्क छ ।
यसवर्ष गएको पुसदेखि पशुचौपायामा फाट्टफुट्ट देखिन थालेको लम्पी स्किन रोगको सङ्क्रमण मकवानपुर, चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्ला हुँदै अहिले देशभर फैलिएको छ ।
चिकित्सकहरुका अनुसार लम्पी स्किन रोग लागेका पशुचौपायामा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्दछ । यो रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टिनमा राखेर उपचार गर्न पशु सेवा एवम् पशुपंक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाको सुझाव छ ।
भारत तथा चीनमा सन् २०१९ मा देखिएको यो रोग नेपालमा २०७७ साल असारमा मोरङ हुँदै भित्रिएको थियो ।













प्रतिक्रिया