
काठमाडौं, ३ जेठ । नेकपा (एमाले) ले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडीमा ढुंगामुढा भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा रानाको गाडीमा इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ घर्तीदोभान नजिकै ढुंगामुढा भएको घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।
सोही गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारीत बैठकमा सहभागी हुन पुग्नुभएका कोशी प्रदेश संसदीय दलका उपनेतासमेत रहनुभएका रानामािथ आक्रमण भएको हो ।
विभिन्न पहिचानका नाममा उच्छृङ्खल समूहले हिंसात्मक गतिविधि गरिरहेको र नेकपा एमालेका नेताहरूलाई निशाना बनाइरहेको घटनाले पार्टीलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।
संवैधानिक व्यवस्था, ऐन र कानूनी प्रक्रियाबाट प्रदेशसभाले कोशी प्रदेश नामांकरण गरेकामा असहमत समूहले नामांकरणको विरोधमा हिंसात्मक गतिविधि गरिरहँदा सरकारले त्यस्ता गतिविधि नियन्त्रणमा ध्यान नदिएकोमा पनि एमालेले आपत्ति जनाएको छ । घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन एमालेले माग गरेको छ ।
















प्रतिक्रिया