२ कार्तिक २०८३, सोमबार

नेपाली युवतीहरूलाई झुक्याएर लगी भारतमा यौनधन्धा सञ्चालन 

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २ जेठ । नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पुर्‍याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको फेला परेको छ ।

प्रहरीले हालै झापामा पक्राउ परेकी म्याग्दीकी अप्सरा भन्ने एलिना खत्रीमाथि गरिएको अनुसन्धानमा यस्तो तथ्य फेला परेको मानव बेचखिबन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।

खत्रीका एक सहयोगीले विसं २०७९ कात्तिक २४ गते एक युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौंमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधि मिसावट गरेर खुवाएका थिए ।

पीडित युवती बेहोस् भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेकी थिइन् । त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखेको प्रहरीले जनाएको छ ।

त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो । पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा वैशाख ३१ गते पक्राउ गरी सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा सोमबार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका छ जनाको संलग्नता रहेको खुलेको छ ।   खत्री यसअघि पनि मानव बेचबिखन अपराधमा संलग्न रहेको पाइएको छ । गत मंसिरमा उनी अदालतको आदेशले रु एक लाख ५० हजार धरौटी तिरेर तारिखमा छुटेको पाइएको छ ।

मानव बेचबिखन मुद्दामा खत्रीका श्रीमान् भारतीय नागरिक अजित शाह पुर्पक्षका लागि कारागार कार्यालय भद्रपुरमा रहेका छन् । प्रहरीले उनीहरूले यसरी नेपाली महिलाहरूलाई लगेर भारतमा कोठी सञ्चालन गरेको जनाएको छ ।