
काठमाडौं, ३१ वैशाख । सस्तो मूल्यमा डलर साट्ने लोभमा एकजनाको नगद १६ लाख रुपैयाँ ठगी भएको छ ।
शनिबार बनेपा नगरपालिका-३, टनचोक जंगल नजिकै कास्की पोखरा महानगरपालिका-१ बस्ने ३७ वर्षीय दुर्गा क्षेत्रीको १६ लाख रुपैयाँ ठगी भएको हो ।
सस्तो मूल्यमा डलर लिन नगद १६ लाख रुपैयाँ बोकेर पुगेका उनलाई अपरिचित दुई जनाले ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीका अनुसार क्षेत्रीलाई डलर साट्न बोलाएर दुई जना अपरिचितले ठगेका हुन् । उनले अपरिचित व्यक्तिले डलर भन्दै रुमालमा बेरेको कागजको बन्डल दिएर क्षेत्रीको साथमा भएको १६ रुपैयाँ लिएर फरार भएको बताए ।
क्षेत्रीको ति व्यक्तिहरुसँग एक महिना अघिबाट फोनमा सम्पर्क भइरहेको र दुई दिन अघि पोखराबाट काठमाडौं आएर शनिबार डलर साट्न खोज्दा ठगी भएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठगी गर्नेहरुको हुलिया मंगोलियन अनुहार भएको, कालो क्याप, अनुहारमा मास्क लगाएको, अन्दाजी ५ फिट ६ ईन्च उचाइ भएको, मोटो शरीर, कटनको कालो ट्रयाकसुट र कालो स्पोर्ट जुत्ता लगाएको रहेका छन् भने अर्को व्यक्ति कालो खैरो कलरको ट्रयाकसुट र कालो स्पोर्ट जुत्ता लगाएका छन् ।
वरिष्ठ उपरीक्षक रेग्मीले उनीहरु दुबैजनाको खोजी कार्य भइरहेको बताए । उनले घटना स्थल वरिपरिको सिसिटिभि फुटेजबाट अनुसन्धान भइरहेको जानकारी दिए ।















प्रतिक्रिया