२ कार्तिक २०८३, सोमबार

राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राँझा, ३१ वैशाख । बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् । राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताए ।

उनका अनुसार बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पुर्‍याएको छ । तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गर्दै आए पनि निर्माण हुनसकेको छैन । भत्किएको तटबन्धन तत्काल मर्मत नगरिए त्यस आसपासका छ गाउँ डुबानमा पर्ने लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए। उनले भने, “भत्किएको तटबन्धन तत्काल मर्मत गर्नुपर्छ ।”

बस्ती जोगाउन निर्माण भएको तटबन्धन भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ र ७ मा रहेका बस्तीमा क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारूले बताए । उनका अनुसार विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको राप्तीनदीको पुरानो तटबन्ध भत्किएका कारण राप्तीनदी बस्तीमा पस्ने खतरा रहेको छ । नदी बस्तीमा पस्नासाथ नरैनापुरमा बनेको बाँध भत्किनेर ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ अतिप्रभावित हुने भएकाले स्थानीय त्रसित रहेका छन् ।

यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्वार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको उनको गुनासो छ । राप्ती सोनारी–७ फत्तेपुर र नरैनापुर–६ मा भत्केको राप्तीको तटबन्ध तत्काल मर्मत नभए वर्षात्मा ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको यहाँका स्थानीय जनप्रतिनिधि बताउँछन् ।

वर्षा अगाडि तटबन्ध मर्मत नभएमा ठूलो जनधनको क्षति हुनुका साथै संघीय सरकारले लगानी गरेको अर्बौँको लगानी पनि डुब्ने नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए ।

नरैनापुर–६ मा करिब डेढ सय मिटर क्षेत्रमात्रै तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ । तटबन्धन मर्मत नभए सोनवर्षा गाउँ डुब्ने डर रहेको उनको भनाइ छ । राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धनमा २०७९ असोज महिनामा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

भत्किएको तटबन्धन निर्माणका लागि गाउँपालिका अध्यक्ष, प्रदेश र संघीय सांसदहरूले पटक–पटक निरीक्षण तथा अवलोकन गरे पनि काम सुरु हुनसकेको छैन । सांसद सूर्य ढकालले राप्ती नदीको तटबन्धनको विषयमा आफूले सदनमा समेत कुरा उठाएको बताए । तत्कालका लागि भत्किएको तटबन्धन निर्माण गर्ने र अन्य स्थानमा पनि नियमितरूपमा तटबन्धनको काम सुरु गर्न आफूले संघीय सरकारमा पहल गरिरहेको उनको भनाइ छ । रासस