
काठमाडौं, ३० वैशाख । नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको विस्तृत इतिहास अब युट्युबमा हेर्न सकिने भएको छ ।
एडुसञ्जालले ‘त्रिभुवन विश्वविद्यालयको इतिहास’ शीर्षक डकुमेन्ट्री सार्वजनिक गरेको छ । डकुमेन्ट्री २९ मिनेटको छ । एडुसञ्जालका व्यवस्थापक तथा डकुमेन्ट्रीका निर्देशक दिपेश आचार्यले नेपालको शैक्षिक इतिहासलाई सूचना प्रविधिसँग जोड्ने कडीकोरुपमा यो डकुमेन्ट्री तयार पारिएको बताए । उनले छुट्टाछुट्टै रुपमा डकुमेन्ट्री तयार गर्दै जाने र सुरुमा त्रिभुवन विश्वविद्यालयको इतिहास तयार पारिएको पनि जानकारी दिए ।
डकुमेन्ट्रीको सन्दर्भमा जारी विज्ञप्तिमा त्रिविको बारेमा जानकारी दिँदै उल्लेख गरिएको छ ‘राणाकालमा नै विश्वविद्यालय स्थापनाको प्रयास भएको थियो । राणा शासन सकियो, प्रजातन्त्रको उदय भयो । प्रजातन्त्र प्राप्तिको केही कालसम्म विश्वविद्यालय स्थापनाको विषय अगाडि बढ्न सकेन । अमेरिकाको ओरेगन विश्वविद्यालयको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा सुधारको प्रयास अगाडि बढाइयो । सोही सन्दर्भमा विश्वविद्यालय स्थापनाको कुरा अगाडि बढ्यो । नेपालको पहिलो शिक्षा आयोगले विश्वविद्यालय स्थापनाका लागि सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझायो । आयोगका अध्यक्ष सरदार रुद्रराज पाँडे थिए । तत्कालीन राजा त्रिभुवनको निधन भएपछि उनको नाम चीर सम्झनाका लागि विश्वविद्यालय स्थापनाको घोषणा गरियो । त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले गरेको घोषणाअनुरुप २०१३ सालमा कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय स्थाना गर्ने निर्णय भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा गठित समितिले नै सो स्थान उपयुक्त भएको ठह¥याएको थियो । २०१६ सालमा त्रिवि ऐन जारी गरियो । तसर्थ यसको स्थापना २०१६ साललाई मानिँदैन आएको छ ।’
डकुमेन्ट्रीका निर्देशक आचार्यले त्रिवि स्थापनाका सन्दर्भमा भएका केही महत्वपूर्ण घटनालाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै यसमा प्रयोग गरिएका अधिकांश तस्बिर हालसम्म सार्वजनिक नभएको दावी गरेका छन् । डकुमेन्ट्रीमा हालसम्मको अवस्थालाई समावेश गरिएको छ । अहिले त्रिविको नौ वटा संकाय र संस्थान, चार वटा अनुसन्धान केन्द्र छन् । यसका ४० वटा केन्द्रीय विभाग, ६२ वटा आङ्गीक क्याम्पस र एक हजार ६२ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । यस विश्वविद्यालयमा करिब चार लाख विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षाको करिब ८० प्रतिशत भार यसै विश्वविद्यालयले थेग्दै आएको छ ।















प्रतिक्रिया