१ कार्तिक २०८३, आइतबार

‘नीरफूल’को ट्रेलर सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ ।

विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोना–लकडाउनका बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान वलले गरेका हुन् । युट्युबमार्फत सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडैं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्ष देखिन्छ ।

पटकथा लेखकसमेत रहेका निर्देशक वलले भूकम्पले भत्काएका मनहरुलाई फिल्म ‘नीरफूल’ मार्फत जोड्ने प्रयास गर्न खोजेको बताए । “भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धहरुको पुनर्निर्माण अझै बाँकी छ”, उनले भने “नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा हो ।” अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरू फिल्मको व्यस्तताका बीच पनि ‘नीरफूल’लाई समय निकालेर रुबी भ्याली पुगेको बताए । “अन्य फिल्ममा भन्दा निकै फरक भूमिका यो फिल्ममा गरेको छु”, उनले भने ।

नेपालका फिल्ममा समाज आएन, कन्टेन्ट आएन भन्ने आरोप नेपाली फिल्मकर्मीलाई लागिरहेका बेला ‘नीरफूल’ले त्यो अभाव पूर्ति गर्ने उनको दाबी छ । धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेँसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका छन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्ड्शिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय रहेको छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताका रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा र इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत छन् ।