२९ आश्विन २०८३, बिहिबार

एमालेको केन्द्रीय कमिटी बैठक : प्रतिवेदनमाथि छलफल सकियो, भोलि कार्ययोजना बनाइने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठकको दोस्रो दिन आज प्रतिवेदनहरूमाथि समूहगत छलफल गरी सार संक्षेप प्रस्तुत गर्ने काम सम्पन्न भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजेदेखि सुरू भएको आजको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले पार्टीको बार्षिक कार्ययोजना निर्माणका लागि सुझाव दिन समूह छलफललाई दिशानिर्देश हुने गरी विचार व्यक्त गरेका थिए ।

बैठकमा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का विषयमा हिजो प्रस्तुत गर्न बाँकी रहेका चार प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस अनुसार बागमती प्रदेशको प्रतिवेदन मिसन ग्रासरुटका बाग्मती संयोजक तथा सचिव गोकर्ण बिष्ट र गण्डकी प्रदेशको प्रतिवेदन मिसन ग्रासरुटका संयोजक तथा सचिव पद्मा कुमारी अर्यालले प्रस्तुत गरे ।

त्यस्तै, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटव्यूरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले प्रस्तुत गरेका थिए ।

बैठकमा प्रस्तुत प्रतिवेदनमाथि नौवटा समूह बनाई छलफल गरी छलफलको सार संक्षेप बैठकमा प्रस्तुत गरिएको प्रकाशन तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

समूह छलफलपछि भूगोलका सात प्रदेशबाट प्रदेश अध्यक्षहरू क्रमश: सुदूरपश्चिमबाट दामोदर भण्डारी, कर्णालीबाट विनोद शाह, लुम्बिनीबाट राधाकृष्ण कँडेल, गण्डकीबाट नवराज शर्मा, बाग्मतीबाट केशव पाण्डे, मधेशबाट राम आधार यादव, कोशीबाट तुल्सी न्यौपानेले समूह छलफलको सार संक्षेप प्रस्तुत गरे ।

त्यसैगरी उपत्यका विशेषबाट प्रेमकुमार पराजुली र सम्पर्क समन्वय कमिटीबाट श्याम बस्नेतले कार्ययोजना निर्माणका लागि समूहको निष्कर्षको सार संक्षेप प्रस्तुत गरेका थिए ।