
काठमाडौं, २८ वैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन् । गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी मनिषा ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना भइन्।
अर्को गाउँको विद्यालय जानुपर्ने हुनाले आजभोलि मनिषाको दैनिकी फेरिएको छ । उनी बिहान सबेरै उठेर विद्यालयका लागि तयारी गर्छिन्।
उनलाई विद्यालय आउजाउँ गर्न दैनिक चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । विद्यालय पुग्न दुई घण्टाको बाटो पैदल हिँड्नुपर्छ, बिहान आठ बजे विद्यालय सुरु हुन्छ, उनले भनिन्, “विद्यालय छोप्न बिहान छ बजे घरबाट निस्किन्छु, कहिलेकाहीँ त ढिलो भएर विद्यालय छुट्छ ।”
खल्लाकै पुष्पा बोहरा पनि ब्रह्मदेवकै सिद्धनाथ माध्यमिक विद्यालयमा पढ्छिन् । सो विद्यालयमा कक्षा १० मा यसपटक भर्ना भएकी पुष्पाको पनि दैनिकी यस्तै छ ।
कक्षा नौँ देखि ब्रह्मदेवको विद्यालय पढ्न आएकी हुँ, विद्यालय आउजाउ गर्न दैनिकी चार घण्टा हिँड्नुपर्छ”, उनी बताउछिन्, कच्ची बाटोमा अटो र बस चल्छ, तर दैनिक भाडा तिरेर जानसक्ने आर्थिक स्थिति छैन । भीमदत्त –९ अन्तर्गत चुरे क्षेत्रमा पर्ने टुँडिखेल, खल्ला र मुसेट्टी दुर्गम बस्ती हुन । गाउँमा माध्यमिक शिक्षा अध्ययनका लागि विद्यालय नहुँदा त्यहाँका विद्यार्थी दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यतामा छन् ।
बिदा १२ बजे हुन्छ, बालबालिका भोकाएर अन्तिम कक्षा नपढेर घर फर्किन्छन्”, भीमदत्त –९ खल्लाका सुरेन्द्र कठायतले भने, “कतिपयले त हिँड्नुपर्ने दुखले विद्यालय नै छोडेका छन् । पहाडी भेगको झल्को दिने चुरेका तीन बस्तीमा एउटा पनि माध्यमिक विद्यालय छैन । टुँडिखेलमा कक्षा पाँच, मुसेट्टीमा कक्षा तीन र खल्लामा कक्षा आठ सम्मको पढाइ हुने गरेको छ ।
यसले गर्दा यहाँका विद्यार्थी माध्यमिक शिक्षाका लागि ब्रह्मदेव झर्नुपर्ने बाध्यता रहेको उनी बताउछन्। “यहाँसम्म पुग्ने कच्ची बाटो छ, बर्खामा त्यहीँ बाटो पनि बिग्रिन्छ”, उनले भने, नानीबाबुहरु जोखिम मोलेर विद्यालयसम्म पुग्छन् ।”
कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले पनि यस्तै सास्ती व्यहोर्नु परेको छ । लामो बाटो पैदल हिँड्नुपर्ने हुनाले कतिपयले त आफ्ना छोराछोरी अध्ययनका लागि महेन्द्रनगरमा कोठा भाडामा लिएर समेत बसाल्ने गरेका छन् । दैनिक आउन जान गरेर चार घण्टा पैदलमै खर्चिनु पर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चन नपाएको विद्यार्थीको गुनासो छ ।
गाउँमा मावि तहसम्म पढ्ने विद्यालय वा अर्को गाउँको विद्यालयमा जान सुपथ मूल्यमा स्कुल बसको व्यवस्था नभएका कारण समस्या भएकाले लामो समय हिँडेर विद्यालय पुग्दा थकाइ लाग्ने गरेको र पढाइमा धेरै समय दिन नसकिँने हुँदा गाउँमै सहज रूपमा पढ्ने व्यवस्था भए सहज हुने बालिका उर्मिला कठायत बताउछिन् ।
आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन अन्यत्र घण्टौँ हिँडेर जानुपर्दा निकै समस्या हुने गरेको उनको गुनासो छ । रासस













प्रतिक्रिया