
काठमाडौं, २५ वैशाख । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै भैरहवा फर्किएको छ ।
उडान नम्बर एसएचए ८२२ नम्बरको जहाजमा समस्या आएपछि भैरहवा नै फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
भैरहवा विमानस्थलमै अवतरण गरेपछि पनि जहाजमा समस्या देखिएको छ । अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको छ । पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न सकेको छैन् ।
यता, काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ । विमानस्थलको धावनमार्गमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको विमान भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो ।
धावनमार्गमा रहेको श्री एयरलाइन्सको विमानलाई अहिले प्राविधिकको सहयोगमा हटाउने काम भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।
धावनमार्गबाट विमान हटाएपछि मात्रै भैरहवा विमानस्थलबाट अरु उडान र अवतरण सुरु हुने बताइएको छ ।












प्रतिक्रिया