
काठमाडौं, २२ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी सेवा प्रवाह पारदर्शी बनाउन रहेको बताएकी छन् ।
शुक्रबार राष्ट्रिय सूचना आयोगको १६औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभइ सरकारी सेवा प्रवाह पारदर्शी बनाउन रहेको भन्दै सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताएकी हुन् ।
मन्त्री शर्माले सूचनाको हक सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनको लागि गम्भीर हुन जरुरी रहेको पनि उल्लेख गरिन् । उनले सार्वजनिक सूचनाको अध्यावधिक र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।
उनले जनतालाई सरकारका गतिविधि र सूचना एकद्वार प्रणालीबाट प्राप्त गर्न सजिलो होस् भनेर सबै मन्त्रालयसँग सम्बन्धित गतिविधि जानकारी एकीकृत अनलाइन प्रणालीबाट सार्वजनिक गर्ने तयारी गरेको पनि बताइन् ।
मन्त्री शर्माले सूचनाको हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय प्रवक्ता र सूचना अधिकारीहरुको सञ्जाल बनाइ सूचना प्रवाहलाई प्रभावकारी बनाउने काममा सरकार लागि रहेको समेत जानकारी गराइन् ।
संघीयताको मर्म अनुरुप सूचनाको हकलाई कार्यान्वयन गर्न कानून पुनरावलोकन आवश्यक रहेको र प्रदेश तथा स्थानीय तहमा तदनुकुल कानून बनाउनुपर्ने मन्त्री शर्माको भनाइ छ ।













प्रतिक्रिया