२९ आश्विन २०८३, बिहिबार

वृहत्तर लुम्बिनी गुरुयोजना छिटै थालनी हुन्छ : प्रधानमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताएका छन् ।

२५६७ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेको बताउदै अब छिटै सरकारले वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्ने जानकारी गराएका हुन्।

लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा विकास गरिने र तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको उनले बताए ।

क्रान्ति र शान्ति एक अर्काका पूरक भएको भए पनि यसलाई बुझ्ने र ग्रहण गर्नेमा एकरुपता हुन नसकेको समेत प्रधानमन्त्री दाहालको भनाइ छ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताए ।

प्रधानमन्त्री प्रचण्डसँग क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मेवारी रहेकाले लुम्बिनी विकास कोषमा अनेकौं विकृति विसंगती रहेको भन्दै उनले विकृति हटाउने बताए ।

उनले जेठ १६ गतदेखि नेपाल वायुसेवा निगमका जहाज गौतमबुद्ध विमानस्थलबाट चल्ने समेत जानकारी गराएका छन् ।

बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आए पनि अघि बढ्न नसकेकाले अघि बढाउनुपर्ने बताएका छन् ।

चौधरीले बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरु निर्माण र हरेक महिना पुजा, अनुष्ठानको माध्यमबाट संसारभरका बौद्धमार्गीलाई आकषिर्त गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए ।

लुम्बिनी विकास कोषले अहिले स्थानीयलाई जोड्न नसकेको भन्दै मुख्यमन्त्री चौधरीले पर्यटकको बसाइ लम्बाउन सरोकारवाला सबैसँग सहकार्य गरेर नीति बनाउन आवश्यक रहेको समेत बताएका छन् ।

रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न समेत मुख्यमन्त्री चौधरीले माग गरेका छन् ।