
काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसले चितवनका पोल्ट्री व्यवसायी एवम् आफ्ना नेता शंकर प्रसाद कँडेललाई आत्हत्या दुरुत्साहन गर्ने व्यक्तिलाई सरकारले पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै ध्यानाकर्षण गराएको छ ।
पार्टी केन्द्रको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले घटनाको यथार्थ छानविन गरी दोषीलाइृ कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका महासमिति सदस्य चितवन भरतपुर महानगरपालिका वडा नं. ८ निवासी शंकरप्रसाद कँडेलले मिति २०८० वैशाख १९ गते साँझ देहत्याग गर्नुअघि ८ पृष्ठ लामो ‘सुसाइड नोट’ छोड्नुभएको, आरोपित दोषीलाई पक्राउ गरी कानूनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा परिवारजनले किटानी जाहेरी दर्ता गरेको तर आजसम्म प्रशासनबाट दोषी पक्राउ गर्न कुनै तत्परता नदेखाएकोप्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको छ ।’
घटनाको यथार्थ छानविन गरेर दोषीलाई कडा कानूनी कारबाही गर्न माग गर्दै कांग्रेसले मृतक कँडेलप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । ‘राजनीतिक, सामाजिक र व्यावसायिक भूमिकामा सक्रिय कँडेलको देहत्यागप्रति गहिरो दु:ख व्यक्त गर्दै नेपाली कांग्रेस उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया