
बुटवल, २१ वैशाख । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् ।
इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउँदै मोडल फेरिएको बताएका हुन् ।
प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको उनले बताएका छन् । आइजीपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताए ।
उनले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागू औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताए । प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको उनको भनाइ छ ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले व्यावसायिक क्षेत्रको संरक्षण, दुर्व्यसन न्यूनीकरण र अनुचित दबाब दिने कामको नियन्त्रणमा प्रहरीको सहयोग जरुरी रहेको बताए ।













प्रतिक्रिया