२९ आश्विन २०८३, बिहिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

बिहीबार प्रदेशसभाको बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

गत १४ गते नियुक्त भएर १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपाका २ सांसद भने तटस्थ बसेका  छन् ।

उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए । नेकपा एमालेका २२ सांसदले विपक्षमा मत हालेका छन् ।

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारीको सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस–माओवादीको बहुमतको सरकारको पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादीका मन्त्रीहरुले  राजीनामा दिँदै चैत्र १० गते समर्थन फिर्ता लिएका थिए ।

कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको दाबीका बावजुद संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन् ।