
काठमाडौं, २१ वैशाख । दार्चुला व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा गएको हिमपहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले राहत स्वरुप जनही दुई–दुई लाख रुपैयाँ दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मृतकका परिवारलाई राहत स्वरुप दुई–दुई लाख रुपैयाँ दिने भएको हो । मंगलबार गएको हिमपहिरोमा परी नक्नी डोमा थापा, कमला कुँवर र प्रवीण कुँवरको मृत्यु भएको छ । उनीहरुको शव बुधबार नै सनाखत भइसकेको छ ।
बाँकी दुई ईश्वरी थापा र क्षिभी सोमो थापाको अझै बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले मृतकका परिवारलाई क्षतिपुर्ती स्वरुप दुई–दुई लाख रुपैयाँ दिने बताइन् ।
उनले भनिन्, ‘हिमपहिरोमा परी मृत्यु भएका तीन जनाको शव फेला परेको छ । उनीहरुको शव सनाखत भइसकेको छ । बाँकी दुई जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । मृतकका परिवारलाई क्षतिपुर्ती स्वरुप दुई–दुई लाख रुपैयाँ दिइनेछ । यसअघि उनीहरुको शव पोष्टमार्टम हुनेछ ।’
घटनापछि उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षाकर्मी घटना स्थलमा खटिएका छन् ।
सुरक्षाकर्मीले हिमपहिरोमा फसेका सात जनालाई जीवतै उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय दार्जुलाकी प्रमुख जिल्ला अधिकारी जोशीले घटनामा वेपत्ता हुनेहरुको खोजी कार्य जारी रहेको बताइन् ।
उनले भनिन्, ‘घटनामा दुई जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छन् । खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खटिएका छन् ।’












प्रतिक्रिया