२९ आश्विन २०८३, बिहिबार

आस्थाको उद्गमस्थल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सृष्टिको उत्पत्तिकालदेखि नै यस धरातलमा सहस्रौं अलौकिक घटनाक्रम निरन्तर चल्दै आएको छ अनि यो क्रम अनन्तकालसम्म निरन्तर चलिरहनेछ ।

यस्तै अलौकिक घटनाक्रममा सहस्रौं अलौकिक शक्तिहरू सृजना भएका छन् । ती अलौकिक शक्तिहरूमाथि मानिसहरूको आस्था र विश्वास युगौंयुगदेखि हृदयमा खोपिएका छन् । यही आस्था र विश्वासले यस धरातलमा ईश्वरप्रतिको आस्था र मानवतालाई जीवित राखेको छ ।

यस्तै आस्था र विश्वासको एउटा उद्गम स्थल बनेको छ भारतको पश्चिम बङ्गाल राज्यको दार्जीलिङ जिल्लाको खरसाङ बजारदेखि तीन किलोमीटर तल स्प्रीङ साइडको उजेरी बस्तीमा अवस्थित सात कन्या देवी एवम् माँ कात्यायनी धाम ।

रोचक पृष्ठभूमि

सात कन्या देवी एवम् माँ कात्यायनी धामको पृष्ठभूमिलाई हेर्ने हो भने यहाँ अलौकिक रहस्यका साथमा ऐतिहासिक तथ्यहरू बारेमा रोचक कुराहरू सुन्न पाइन्छ । यहाँ पहिला ओढार मात्र थियो अनि यस ओढारभित्र रहेका तीनवटा धाराहरू आजसम्म पनि अविरल गतिमा बगिरहेका छन् ।

पहाड़ साथै मदेश खण्डको मनमोहक प्राकृतिक सुन्दरताको दृश्य अवलोकन गर्न सकिने अनि वरिपरिका हरियालीले भरिएका स्वच्छ वातावरण भएको स्थानमा यही ओढारमा स्थापित भएको छ अति भव्य सात कन्या देवी एवम् माँ कात्यायनी धाम ।

स्थानीय मानिसहरूका भनाइ अनुसार मन्दिरभित्र रहेका तीनवटा धाराहरू विशेष गरी बर्द्धवान राजाकी रानीसित सम्बन्धित छ । मन्दिरभित्र आज पनि ती धाराहरू छन् । सो बेला बर्द्धवान राजाको कोठी खरसाङको नयाँ बजारस्थित राजबाढ़ीमा थियो ।

राजबाढीमा एउटा पानीको स्रोत जहाँ बर्द्धमान राजाकी रानीले प्रयोग गर्ने हुनाले यसको नाम रानीकूप बस्यो । राजबाढ़ीमा आज पनि यो रानीकूप छ, यही रानीकूपदेखि ओह्रालो (दुरबिन डाँडा– इगल क्र्याग मुनिको बाटो)बाट क्याम्प साइट हुँदै उजेरी बस्ती जाने पुरानो बाटो छ । यही बाटो भएर रानी पूजा गर्न ओढारमा जान्थिन् भन्ने जनश्रूति छ ।

उहिलेको यो रानीकुप खरसाङमा फूलखेतीका उद्यमी व्यक्ति एवम् भेट्नेरीका पूर्व कर्मचारी सकुल राईको घरपरिसरमा छ । उहिलेदेखि रानीकुपमा आइरहने पानी आजसम्म पनि निरन्तर आइरहन्छ । सकुल राई भन्छन्, ‘पहिला यो रानीकुप आँपको पत्ताको आकारमा थियो, तर पहिरो गएको कारणले यसको आकार बिग्रियो । यसलाई सकुल राईले वरिपरि सिमेन्ट लगाएर राम्रोसित संरक्षण गरेका छन् । यही रानीकुपबाट पहिला बर्धवान राजाको पालामा अहिलेको वेस्ट बेंगल नेशनल भोलेन्टियर फोर्स (डबल्यूबीएनभीएफ)को अघिल्तिर रहेको शिव मन्दिरमा पानी चडाउन लैजाने गरेको भनाइ छ ।

उजेरी बस्तीको ओढारको धारामा गाउँलेहरू कतिले लुगा धुने गरेको अनि जङ्गलमा घाँस काट्नेहरू ओढार नजिक बिसाएर धाराको स्वच्छ पानीले तिर्खा मेटाउँथे । समयको चक्र घुम्दै गयो, ईश्वरमाथिको आस्था र विश्वासलाई कसिलो बनाउँदै यहाँ बर्द्धमान राजाकी रानीको पूजाअर्चना निरन्तर अघि बढ्दै गयो । रानीको भक्तिभाव र पूजाअर्चनाकै कारणले यस ठाउँमा सो बेला धेरैले दैविक शक्ति महसुस गरेको भनाइ छ ।

रानीले भन्दा पनि अघि यहाँ पूजा गर्ने गरेको अनुमान गरिन्छ । पुजारीहरूले नै त्यहाँ देवीको वास रहेको उजागर गरेको जनविश्वास छ । त्यसै बेलादेखि यस ओढारमा मानिसहरूमा पूजाको क्रम अझ बढेÞर गयो अनि जुन आजसम्म निरन्तर चल्दै आइरहेको छ ।

तीनधारे मन्दिर भनिन्थ्यो

तीनवटा धारा भएका ठाउँ हुनाले पहिला तीनधारे मन्दिर भनिन्थ्यो । उजेरी बस्तीमा अवस्थित रहेका हुनाले धेरैले मन्दिरलाई उजेरी बस्तीको देवी मन्दिर भन्ने गर्थे । ‘उज्येली’ शब्दबाट अपभ्रंश भएर ‘उजेरी’ भएको पूजा कमिटीका सचिव सन्तोष पहरी बताउँछन् । उनका अनुसार मन्दिर वरिपरिका जङ्गलमा एक किसिमको काठको रूख थियो, जसमा राति रेडियमजस्तो उज्यालो आउने हुनाले ‘उज्येली’ भनिन्थ्यो । कालान्तरमा उज्येली शब्द जनजिब्रोमा उजेरी भएर बस्यो ।

यहाँ गाउँवासीले दैनिक नित्य पूजालाई निरन्तरता दिँदै थिए भने वैशाखी पूर्णिमाको दिन एक दिने पूजा धामी–झाँक्रीद्वारा गरिन्थ्यो । सन् १९८३ देखि गाउँमा आध्यात्मिक विकास गराउने पहल शुरु भयो । यसै पहलअनुसार कालान्तरमा आएर सन् १९८७ मा गाउँलेहरूले समिति बनाएर यहाँ पाँच दिनको पूजा गरे । सन् १९८३ देखि सन् १९८७ सम्म चार वर्ष निक्कै सङ्घर्ष गर्नुपरेको पूजा कमिटीका अध्यक्ष एवम् मन्दिरका पुजारी राजेन प्रधान बताउँछन् ।

सन् १९८७ मा पाँच दिनको पूजा पहिला टकसारे बाजेले एक गरेका थिए । राजेन प्रधानले बताएअनुसार सो बेला हरिदासहट्टा दार्जीलिङ निवासी गोपाल थापाले पूजा गर्ने विधि बताएका थिए । पहिला पहिला एक दिनको पूजा गर्दा पनि गाउँमा धेरैको शरीरमा घाउखटिरा निस्किए साथै झैंझगड़ा भइरहने गरेको पनि भनाइ छ । पाँच दिनको पूजा गर्दा पनि उस्तै नै रहेको थियो । सन् १९८८ मा फेरि नौ दिनको पूजा शुरु गरियो । यो नौ दिनको पूजा आजसम्म निरन्तर चल्दै आएको छ । यस नौ दिनको पूजा खरसाङका समाजसेवी पण्डित तुलसी अधिकारीले करिब एकतीस वर्षसम्म गरे ।

सन् १९८७–८८ मा पनि यो मन्दिरको कुनै स्थायी ढाँचा थिएन । केराको बोट, घाँसपातले ढाकिएको र पूजा गर्ने स्थलमा ढुङ्गा बिछ्याइएको थियो, तर आस्था र विश्वास दह्रो थियो । सन् १९९१ मा खरसाङका केही मानिसहरूद्वारा सानो छाप्रो हालेर मन्दिरको ढाँचा बनाइयो । यति भएपछि बिस्तारै ‘उजेरी बस्तीको देवी मन्दिर’को नाममा प्रचार हुन थाल्यो ।

यसरी प्रचार हुँदै जाँदा दार्जीलिङ जिल्ला, सिक्किम, नेपाल, भोटाङबाट श्रद्धालुहरू यहाँ पूजा गर्न आउन थाले । कति गम्भीर बिमारका रोगीहरू दृढ़ विश्वास र आस्था लिएर मन्दिरमा दर्शन गर्न आउन थाले । कति निको भएर फर्किएका घटनाहरू पनि यहाँका भक्तहरूले सुनाउँछन् । सन् १९९७ मा सानोतिनो ढालाई गरेपछि मन्दिर अलिक ठूलो बनियो । १८ सप्टेम्बर २०११ मा आएको ६.७ रेक्टर स्केलको भुइँचालोले मन्दिरमा केही क्षति हुँदा मरम्मती गरियो ।

सात दिदीबहिनी

सन् २०१७ मा मन्दिरको नयाँ कमिटी बनियो । त्यही कमिटीद्वारा मन्दिरको नाम श्री सात कन्या देवी एवम् कात्यायनी देवी धाम राखियो । यस मन्दिरको मूल बुढी बोज्यू महारानीलाई मानिन्छ । उनै बुढी बोज्यूसित माँ कात्यायनी देवी विराजित रहेको विश्वास गरिन्छ ।

बुढी बोज्यूकी सात दिदीबहिनी रहेको पूजा कमिटीका अध्यक्ष राजेन प्रधान बताउँछन् । सात दिदीबहिनीको नाम उनी यसरी बताउँछन्, ‘निन्नमा, सुम्निमा, खोलीमा, तोलीमा, लुलेमा, खान्दारे, निमाङ्सा ।’ सात दिदीबहिनी र माँ कात्यायनीको वास रहेको विश्वासले सात कन्या देवी एवम् कात्यायनी देवी धाम नाम राखियो ।

ओढारबाट भव्य मन्दिर

वर्षौंअघि घाँसपातले ढाकिएको पूजा गर्ने स्थल ओढार आज अति नै भव्य मन्दिरमा परिर्वतन भएको छ । मन्दिरभित्रको गर्भगृहदेखि बाहिरसम्म नै अति नै सुन्दर र आकर्षक बनिएको छ । मन्दिर निर्माण समितिका अध्यक्ष विक्रम प्रधानका अनुसार एक करोडभन्दा बढ़ी रकममा मन्दिर निर्माण भएको छ । यो रकम सबै सर्वसाधारणबाट चन्दा सङ्ग्रह भएको उनी बताउँछन् । यस मन्दिर निर्माणका लागि स्वंय विक्रम प्रधानले अवधारणा तयार गरेका हुन् भने वास्तुकार दिपेन प्रधान अनि नक्सा पुणित प्रधानले बनाएका हुन् ।

अहिले मन्दिरमा हलघर, भण्डारास्थल बनिने तयारी हुँदैछ । वृद्ध–वृद्धाहरूका लागि आउँदो दिनमा गाडीको बाटो पनि बनिने उद्देश्य रहेको विक्रम प्रधान बताउँछन् । विक्रम प्रधान भन्छन्, ‘यस क्षेत्रलाई धार्मिक पर्यटन स्थलको रूपमा विस्तार गर्ने विचार गरेका छौं ।’

यस्तो हुन्छ नौ दिन भव्य पूजा

पूजा कमिटीका कोषाध्यक्ष रमेश प्रसादले बताएअनुसार वैशाख शुक्ल पक्ष सप्तमीदेखि वैशाख पूर्णिमासम्म मन्दिरमा अति नै भव्यताका साथ भक्तिभावसहित नौ दिवसीय चण्डी महायज्ञ बर्सेनी आयोजना हुने गरेको छ । यस नौ दिवसीय चण्डी महायज्ञको प्रथम दिनमा कलश यात्रा, पन्चाङ पूजन, वरण, मण्डप प्रवेश, कलश स्थापना, मण्डल पूजा, शिव रूद्राभिषेक, श्रृङ्गार, आरती, पुष्पाञ्जलीको कार्यक्रम हुने गर्दछ ।

यसपछि अन्य दिनहरूमा शिव रूद्राभिषेक, कुमारी कन्या पूजा, हवन पूर्णाहुति साथै सङ्गीतमय भजन संध्या हुने गरिन्छ । नौ दिनको चण्डी महायज्ञमा माँ कात्यायनी पिताम्बरी श्रृङ्गार, एक हजार आठ दिपमाला, ८४ व्यञ्जन भोग महाआरती, माँ भगवती राजोपचार पूजा अभिषेक श्रृङ्गार र माँ काली ६४ योगिनी पूजाको विशेष कार्यक्रम रहेको हुनाले पूजाको मुख्य आकर्षण रहेको छ ।

नौ दिनसम्म नै मन्दिरमा श्रद्धालुहरूलाई महाप्रसाद वितरण गरिन्छ । यस पूजामा काशी (वाराणसी)बाट पनि पण्डितहरू आउने गरेका छन् । यसपाली २७ अप्रेल २०२३ देखि ५ अप्रेल २०२३ सम्म नौ दिनको पूजा सम्पन्न भइरहेको छ । यसपाली उज्जैन मध्य प्रदेशको श्री पञ्चायती निरञ्जनी अखाडाका १००८ महामण्डलेश्वर श्री श्री मन्दाकिनी पुरी माताले पूजाको शुभारम्भ गरिन् ।

मन्दिरबाट सामाजिक सशक्तिकरण

यस मन्दिरमा केवल पूजाअर्चना मात्र होइन तर, पूजाअर्चना गरेपछि बुझ्नुपर्ने मानव मूल्य र सामाजिक सशक्तिकरणका बारेमा जागरूक गराउने कार्य शुरु भइसकेको छ । यसका लागि अहिलेको समितिले समाजमा आध्यात्मिक विकास विस्तारको पहल शुरु गरिसकेको छ । सामाजिक सशक्तिकरणको दिशामा एउटा स्वस्थ सुसंस्कृति समाज निर्माणको लागि समिति अग्रसर रहेको छ ।

मन्दिरको कमिटीले सामाजिक सशक्तिकरणको लागि सात कन्या वेलफेयर सोसाइटी स्थापित गरेको छ । यसमा विशेष गरी महिलाहरू साथै युवावर्गलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको निर्माण समितिका सचिव हेमन्त दर्नाल बताउँछन् । मन्दिरको यस सोसाइटीले सिलाई बुनाईको प्रशिक्षण पनि शुरु गरेको थियो । यो प्रशिक्षण केन्द्र कोरानाभइरसको महामारीदेखि अस्थायी रूपमा बन्द भएको छ ।

अब फेरि यो प्रशिक्षण केन्द्र शुरु गर्ने तर्खरमा रहेको छ । यहाँ प्रशिक्षण केन्द्रको लागि लायन्स क्लब शताब्दीद्वारा ६ वटा सिलाई मसिन प्राप्त भएको छ । समितिद्वारा स्वास्थ्य शिविरहरू पनि आयोजना गर्ने गरेको छ । सिलगढी लायन्स क्लब शताब्दीसित संयुक्त आयोजनामा मेघा मेडिकल क्याम्प आयोजना गरिसकेको छ । जसमा ४० जनाको आँखा शल्यचिकित्साद्वारा निको भएको छ । आँखा उपचारका लागि मेची नेत्रालयसित मन्दिरको समिति सम्बन्धित रहेको छ ।

उपसंहारः यस मन्दिरसित जोडि़एका अझ कयौं तथ्यहरू छन् जुन खोजी गर्न अझ बाँकी नै छ । कति जनश्रुति छन् कति ऐतिहासिक तथ्य छन् । यो क्षेत्र एउटा धार्मिक पर्यटन केन्द्र बन्नसक्छ । यस्ता ऐतिहासिक तथ्यहरूसित जोडिएका मन्दिरहरू पहाडमा थुप्रै छन्, जसको खोजी हुन अझ बाँकी नै छन् । यस्ता आस्थाका धरोहरहरूको संरक्षण र विकासका लागि जीटीए जस्ता क्षेत्रीय प्रशासनिक निकायहरूको विशेष दायित्व बन्दछ ।

आज यस सात कन्या देवी एवम् कात्यायनी देवी धाम कयौं मानिसहरूका लागि आस्था र विश्वासको केन्द्र साथै आध्यात्मिक विकासको केन्द्र बनेको छ । यो मन्दिर केवल खरसाङको मात्र नभएर समग्र पहाडको आस्था र विश्वासको बलियो धरोहर बनेको छ ।