
काठमाडौं, १९ वैशाख । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकार गैरजिम्मेवार मात्रै नभई नालायक र निकम्मा सावित भएको बताएका छन् ।
नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीद्वारा आज आयोजित मिसन ग्रासरुट अभियान, सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले सरकारको कारण देश बरबादीको दिशातर्फ जान लागेको समेत बताएका छन् ।
सरकारले नागरिक हितका कुनै पनि काम गर्न नसकेको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले मात्र देश विकास गर्न सक्ने विचार व्यक्त गरे । राष्ट्रियताको मुद्दा बोकेर हिँड्ने पार्टी एमाले भएकाले राष्ट्रिय स्वाभिमानको झण्डा झुक्न नदिइने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

पछिल्लो अवस्थामा नेकपा एमाले दह्रो पार्टी बन्नुपर्ने बताउँदै उनले भने, ‘मिसन ग्रासरुट अभियान नेकपा एमालेलाई दह्रो र सुदृढ बनाउन चलाइएको अभियान हो । यदि पार्टी बलियो भएन भने यो देशको सकारात्मक ढङ्गले भाग्य र भविष्यको फैसला हुन सक्दैन । त्यस कारण पार्टीलाई दह्रो बनाउन आवश्यक छ ।’
मिसन ग्रासरुट एउटा तरङ्ग ल्याएको र कार्यकर्ता तथा नागरिकमा समेत उत्साह बढाएको पोखरेलको भनाइ छ ।













प्रतिक्रिया