
काठमाडौं, १९ वैशाख । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मंगलबार निलम्बन गरेका हुन ।
नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार निलम्बन गरिएको संसद सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरेको निर्देशन अनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरी निलम्बनमा परेको जानकारी दिएको हो ।
गत वैशाख १५ गते बसेको संसद् बैठकमा सभामुख घिमिरेले कोइरी उपचारमा रहेको भन्दै अनुपस्थितको बिदा स्वीकृत गराउन खोजेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनी फरार अपराधी भएकाले बिदा दिन नसक्ने अडान लिएपछि संसद् बैठक अवरुद्ध भएको थियो । त्यही दिन सभामुखले कोइरीको उपचार बिदा दिने प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दै कोइरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि संसद् बैठक पुनः सञ्चालन भई संसद् अधिवेशन अन्त्य गरिएको थियो ।
मधेश आन्दोलनका बेला २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा चलेको थियो।
उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी छुटेका थिए । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि कोइरी फरार भएका थिए ।
फरार रहेकै अवस्थामा उनले गत मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी–१ बाट चुनाव जितेका थिए। तर उनी हालसम्म पनि फरार छन् ।













प्रतिक्रिया