
काठमाडौं, १९ वैशाख । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको सुनकोठीबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी घटनामा अनुसन्धान गर्न राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए । उनले भने,‘इन्द्रजित राई पक्राउ परेका छन् । संगठित अपराध तथा ठगी मुद्दामा उनी विरुद्ध अनुसन्धान गर्नु पर्ने देखियो । त्यसो हुँदा उनलाई पक्राउ गरिएको हो ।’
राई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा प्रहरीले केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका क्रममा राई पनि संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा राईका छोरा निरज राईको पनि संलग्नता रहेको खुलेको छ । उनीहरु विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ । उनीहरुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान ८ सय ७५ नेपाली नागरिकसँग रकम असुलेको अनुसन्धानबाट खुलेको छ । १० देखि १५ लाख रुपैयाँका दरले उनीहरुले रकम असुलेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया