
काठमाडौं, १८ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितले अघि सारेका मागका विषयमा सरकारसँग आफै छलफल गर्ने बताएका छन् ।
आज सोमबार काठमाडौंको शान्तिबाटीकामा मिटरब्याजी पीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरुले अघि सारेका मागहरु जायज भएकाले यस बिषयमा सरकारसँग छलफल गर्ने बताउनुभएको हो ।
बाध्यतामा परि ऋण लिएका किसानहरूको घरखेत नै बेच्नुपर्ने गरी सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने भट्टराईको भनाइ छ ।
मिटरब्याजीसम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको बताउँदै भट्टराइले जाली तमसुकका कारण मुद्दा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरु स्थगित गराउदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने उनले बताएका छन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटरव्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्नेलगायतका माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
यसअघि सरकारसँग भएको वार्ता असफल भएपछि मिटरब्याजी पीडित शान्तिबाटीकामा बस्दै आएका छन् ।














प्रतिक्रिया