
काठमाडौं, १७ वैशाख । नेपालमा उच्च शिक्षा अध्ययनको अवस्था र वैदेशिक शिक्षा आर्जनका अवसर र चुनौती लगायतका विषयमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)सँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंमा आयोजना गरेको ‘एडुक्लेभ’मा सहभागी वक्ताहरुले वैदेशिक शिक्षामा विद्यार्थीलाई रोक्न नहुने बताए ।
कार्यक्रममा अधिकांश वक्ताले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि उचित वातावरण बनाउनुपर्ने तर सँगसँगै नेपाल फर्काउने वातावरण पनि बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि नेपाल सरकारले अवसर सिर्जना गर्नुपर्ने उनीहरुको भनाइ छ ।
वैदेशिक शिक्षाका लागि नेपालबाट हजारौं युवा युरोप, अमेरिका, क्यानाडा, जापान, कोरिया जस्ता मुलुकमा पुग्ने गरेका छन् । वक्ताहरूले उच्च शिक्षाका लागि नेपालमै पनि गुणस्तरीय शिक्षा प्रदानमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा तीन वटा प्यानल डिस्कसन भएका थिए । ‘हाम्रो शिक्षा प्रणाली, नयाँ दृष्टिकोणको आवश्यकता’ शीर्षकमा पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, शिक्षा मन्त्रालयका पूर्वसचिव दीपेन्द्र विक्रम थापा, ईक्यानका अध्यक्ष प्रकाश पाण्डे र अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवालले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारले एनओसी बन्द गर्नुभन्दा विश्वविद्यालय राम्रो बनाउनुपर्नेमा जोड दिए । ‘समयमा जाँच र समयमा रिजल्ट आउनुपर्यो । नेपालकै विश्वविद्यालयहरु राम्रो भएभने पढ्नका लागि अन्त को जान्छ ?’ पौडेलले भने, ‘शिक्षालाई आजको अवस्थामा कसले पुर्यायो त ? पार्टीमा आबद्ध भएको नाताले म पनि त्यसको भागिदार छु ।’

यसैगरी, पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपालमा कुनै पनि विद्यार्थीले बाहिरको जस्तो गुणस्तरीय शिक्षा भनेर खोजी गर्दा गुणस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउनु पहिलो दायित्व हुनुपर्नेमा जोड दिइन् ।
यस्तै, ‘विदेशिने नेपाली विद्यार्थीः अवसर वा जोखिम’ शीर्षकमा पूर्व पर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा, शैक्षिक अभियन्ता सविन जोशी, डिस होम मिडियाका सञ्चालक सुदीप आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरे र ग्लोबल इक्वालिटीका फाउन्डिङ म्यानेजिङ पार्टनर मनिष थापाबीच अन्तरक्रिया भएको थियो ।
विदेश पढ्न जाने क्रमसँगै उतै पलायन हुने चलनले देशलाई ठूलो नोक्सानी भइरहेको नेता भट्टराईको भनाइ थियो । उनले भने, ‘पैसा कमाउन सकिन्छ, तर बौद्धिकताको पलायन भयो भने त्यो कमाउन गाह्रो छ ।’
उनले पछिल्लो समय बाहिरको विश्वविद्यालयमा पढ्ने चाहिँ जान्ने र नेपालको विश्वविद्यालयमा पढ्ने नजान्ने भन्ने किसिमको भाष्य निर्माण भएकोमा चिन्ता व्यक्त गरे ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले विदेश पढ्न जाने कुरा समाजमा प्रतिष्ठाको विषय समेत बन्दै गएको बताए । ‘पल्लो घरको भाइ गयो, दिदी गइन् हामी किन नजाने भन्ने आउँछ,’ उनले थपे, ‘सामान्य परिवारको विद्यार्थी विदेश पढ्न जाँदा घर बन्दकी राख्नुपर्छ । त्यसरी घर बन्दकी राखेर विदेश गएपछि उसका लागि मनोवैज्ञानिक दबाब हुन्छ । पैसा नतिरी फर्कन्न भन्ने हुन्छ ।’
यसैगरी, ‘वैदेशिक शिक्षाको प्रभाव’ विषयक छलफलमा पूर्व शिक्षामन्त्री एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनाल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी, सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टन्डन र शैक्षिक परामर्शदाता प्रकाश पाण्डे सहभागी थिए ।

अन्तरक्रियामा सहभागी वक्ताहरूले विदेशमा शिक्षा हासिल गरेर नेपाल फर्केका व्यक्तित्वहरुको उदाहरण पनि दिए ।
एडुक्लेभको आयोजक वान अपका सीईओ रविशंकर झाले राज्यले शैक्षिक परामर्श केन्द्रहरूलाई सम्मानको दृष्टिले नहेरेको भन्दै चिन्ता व्यक्त गरे । उनले विदेश पढ्न जान चाहने विद्यार्थीलाई सहायता, परामर्श गर्ने शैक्षिक परामर्श केन्द्र र व्यवसायीहरुलाई नकारात्मक चित्रण गरेर कसैलाई फाइदा नहुने बताए ।
शैक्षिक परामर्श व्यवसायलाई अझ मर्यादित र व्यवस्थित गर्दै लैजान, यस क्षेत्रका अवसर र चुनौतीबारे बहस गर्न एडुक्लेभमा सरोकारवाला, विज्ञ, नीति निर्माता, विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श केन्द्रहरुलाई एकै थलोमा भेला गरेर अन्तरक्रिया गराएको उनको भनाइ थियो ।














प्रतिक्रिया