
काठमाडौं, १७ वैशाख । कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ ।
राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ ।
२०८० वैशाख १० गतेदेखि १६ गतेसम्म यो तालिम उपलब्ध गराइएको हो । स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखिएको छ ।
उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दीगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिइएको हो ।
नबिल दीगो बैंकिङ अवधारणाअनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको बताएको छ ।
कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुखलगायत नबिल बैंकका तर्फबाट कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति थियो ।
सात दिने तालिममा ५७ स्थानीय उद्यमीहरू सहभागी थिए ।














प्रतिक्रिया