
काठमाडौं, १७ वैशाख । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन सुरू गरेको छ ।
प्रधानन्यायाधीश नियुक्ति लगायतका मागहरु पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिएपछि बारले आज आइतबारदेखि अर्को चरणको आन्दोलन सुरू गरेको हो ।
आफुहरुका मागका विषयमा प्रधानमन्त्रीलगायत सरोकारवाला सबैलाई जानकारी गराए पनि पूरा नभएका कारण पुनः आन्दोलन सुरू गर्नुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । घिमिरेले न्यायपालिका नेतृत्वबिहीन भएको एक वर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नवढेको भन्दै एक सातासम्म बार परिसरमा प्रदर्शन गर्ने जानकारी दिएका छन् ।
सांकेतिक रुपमा सुरू गरिएको प्रदर्शन देशभरका न्यायलयमा हुने र प्रदर्शनका कारण सेवा प्रवाहलाई कुनै असर नपार्ने उनको भनाइ छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन भएको र न्यायपालिकाप्रतिको जनआस्था खस्किँदो अवस्थामा पुगेको बारले जनाएको छ ।
न्यायपालिकाको विकृति, विसंगतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर्न ध्यानाकर्षण गराउँदा पनि सुनुवाई हुन नसकेको बारको भनाइ छ ।















प्रतिक्रिया