
काठमाडौं, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई एक्लो पर्न दिन नहुने बताएका छन् ।
लिङ्देनले आज पनि आफ्नो पार्टी पुनको धर्नामा ऐक्यवद्वता जनाउन माइतीघर जान लागेको जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै लिङ्देनले भनेका छन्ः
ल है महावीर पुनलाई एक्लो पर्न नदिऔं!
आज पनि हामी माईतीघर मण्डलामा जाँदैछौँ!
यसअघि शनिबार पनि राप्रपाका नेताहरु पुनको आन्दोलनलाई समर्थन गर्दै धर्नामा सहभागि बनेका थिए ।

अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग राख्दै धर्नामा बसेका पुनले माग पूरा नभएसम्म धर्ना कायम रहने बताउँदै आएका छन् ।

शुकबारबाट धर्नामा बसेका पुनले रात पनि सडकमै बिताउँदै आएका छन् ।

पुनले आफ्नो आन्दोलनमा सम्पुर्ण राजनीतिक पार्टीहरु, पार्टीका भातृ संस्थाहरु र कार्यकर्ताहरुलाई स्वागत रहेको बताइसकेका छन् । तर पनि हालसम्म सरकारले पुनको माग लाई सम्बोधन गर्न कुनै तयारी थालेको छैन् ।

पुनको माग जायज रहेको भन्दै सामाजिक अगुवाहरुले भने सार्वजनिक रुपमा नै माग सम्बोधन हुनुपर्ने बताउँदै आएका छन् ।












प्रतिक्रिया