
म्याग्दी, १६ वैशाख । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीका सदस्यहरूले आफूलाई ग्राहकका रूपमा नभई संस्थाको मालिकका रूपमा बुझ्ने हो भने सहकारीका अहिलेका समस्या समाधान हुने बताएका छन् ।
म्याग्दीको बेनीस्थि विश्वामित्र वचत तथा ऋण सहकारी संस्थाले आज शनिबार आयोजना गरेको वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो धारणा अघि सारेका हुन् ।
सहकारी सदस्यहरूको भएको र सदस्यको आर्थिक सहभागितासहित सञ्चालन हुने भए पनि अधिकांश सदस्यले आफूलाई मालिकको रूपमा नभई ग्राहकको रूपमा हेर्ने गरेका कारण समस्या देखिएको उनले बताए । सञ्चालक जिसीले जुन दिनदेखि सदस्यहरूले आफूलाई मालिकका रूपमा बुझ्न थाल्छन्, त्यो दिनदेखि सहकारीहरू समस्यामा नपर्ने दाबी गरे ।
सहकारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सञ्चालकहरूले सदस्यहरूको चाहना र आवश्यकताका आधारमा योजना बनाउने, शेयर सदस्यहरूले संस्थाको योजनालाई सफल पार्नका लागि सहयोग गर्ने र कर्मचारीले दैनिक कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके सहकारीका समस्या समाधान भई सहकारीमार्फत आर्थिक तथा सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्न सकिने उनले बताए ।
सहकारीमा यतिबेला वचत फिर्ताको चाप बढेको भन्दै जिसीले वचत फिर्ताको चाप बढ्दै गए त्यसको असर ऋणी सदस्यहरूमा पर्ने भएकाले ऋण लगेर भुक्तान नगरेका सदस्यहरूले यतिबेला ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका पूर्वध्यक्ष तथा बेनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बानियाँले विश्वामित्र सहकारीमा सदस्यहरूको सक्रिय सहभागिता, सञ्चालकहरूको प्रभावकारी सञ्चालन र कर्मचारीहरूको सही व्यवस्थापन भएकाले सहजताका साथ सञ्चालन भइरहेको जानकारी दिए । बजारमा चल्ने हल्लाका पछि नलागी संस्थाको यथार्थ अवस्था बुझेर ढुक्कका साथ कारोबार गर्न उनले सबै शेयर सदस्यहरूलाई आह्वान गरेका छन् ।
संस्थाका अध्यक्ष यामबहादुर बानियाँले शेयर सदस्यहरूको चाहना र भावना अनुसार संस्था सञ्चालन भएकाले दीर्घकालीन लक्ष्यका साथ अगाडि बढेको बर्ता ।
विश्वामित्र सहकारीमा हाल ७७५ जना शेयर सदस्य, ३ करोड ७० लाख शेयर रकम, १९ करोड वचत रकम, २२ करोड ऋण लगानी, १ करोड ५५ लाख कोष रहेको प्रवन्धक सरस्वती बानियाँले जानकारी दिइन् ।















प्रतिक्रिया